विराटनगर । नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’ को नारा दिएर १२ वर्ष अगाडि स्थापना भएको नयाँ शक्ति पार्टी पछिल्लो समय जनता समाजवादी हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आइपुगेको छ ।
यसको नेतृत्व गरेका नेता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैं पनि अहिले उक्त पार्टीको नेतृत्वमा छैनन् । उनले प्रचण्ड छोडेर आएका सुदन राईलाई संयोजक बनाउँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी बनाएका हुन् । तर, डाक्टर भट्टराईलाई सुरुवाती दिनदेखि कोशी प्रदेशबाट सहयोग गर्दै आएका नेता भरत दाहाल र तेजलाल कर्णले भट्टराईको साथ छाड्ने भएका छन् ।
नेता दाहालले भट्टराईसँगको १२ वर्षे सहकार्य र आफ्नो लगानीको फेहरिस्त सुनाउँदै आफू ‘वाक्क–दिक्क’ भएको बताएका छन् । कर्णले भने पार्टी परित्यागको घोषणा गर्दै रास्वपामा प्रवेश गर्ने बताएका छन् ।
नयाँ शक्ति पार्टीको स्थापना कालदेखि नै भट्टराईलाई आर्थिक र सांगठनिक रूपमा काँध थापेका भरत दाहालले आफू नयाँ शक्ति स्थापनादेखि अहिलेसम्म आइपुग्दा झण्डै १ करोड रुपैयाँ खर्च भएको बताए । ‘१ करोड खर्च भयो । १२ वर्षसम्म वैकल्पिक शक्तिको आशमा लागियो, तर उपलब्धि शून्य रह्यो,’ उनले भने ।
भट्टराईले वैकल्पिक राजनीतिको नाममा कार्यकर्तालाई भ्रममा राखेको र अन्त्यमा फेरि पुरानै माओवादी विचारधाराका नेताहरूसँग मिलेर पार्टी बनाएको कर्णले बताए । ‘वैकल्पिक भनेर लागियो, तर अन्त्यमा माओवादी पृष्ठभूमि भन्दा बाहिर निस्कन सकिएन,’ उनले भने ।
बाबुराम भट्टराईको पहलमा सुदन राई संयोजक र जनार्दन शर्माहरूको समेत परोक्ष संलग्नतामा बनाइएको भनिएको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) प्रति दाहाल र कर्ण दुवैको तीव्र असहमति देखिएको छ । उनीहरूले यो पार्टीलाई ‘माओवादीहरूको नयाँ खोल’ को संज्ञा दिएका छन् ।
‘हामीले भट्टराईलाई नेतृत्व छोडेर पूर्वप्रधानमन्त्रीको हैसियतमा सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन आह्वान गर्न सुझाव दिएका थियौँ,’ नेता कर्णले भने, ‘तर उहाँले फेरि पनि केही व्यक्तिहरूको स्वार्थमा मात्र केन्द्रित भएर नयाँ पार्टीको नाटक गर्नुभयो ।’
बाबुरामसँगको सम्बन्ध विच्छेदपछि कर्णले आफू रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने निर्णयमा पुगिसकेको बताए । ‘अहिलेको मुख्य शक्ति भनेकै रास्वपा हो । हामीले वैकल्पिक शक्ति निर्माण गर्न खोजेको १२ वर्ष भयो, तर रवि लामिछानेले छोटो समयमै त्यो उचाई हासिल गरे । अबको विकल्प रास्वपा नै हो, म त्यता जाने निर्णयमा पुगिसकेँ,’ उनले भने ।
यता भरत दाहालले पनि आफू विभिन्न राजनीतिक शक्तिहरूसँग छलफलमा रहेको र धेरैजसो साथीहरूको दबाब रास्वपामा जानुपर्ने रहेको उल्लेख गरेका छन् । उनले भने, ‘साथीहरूको प्रेसर रास्वपातिरै छ, अब उपलब्धि कहाँ हुन्छ, त्यतै लाग्नुपर्ने अवस्था छ ।’ दाहाल प्रलोपा बन्नु भन्दा अगाडि बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीको केन्द्रीय सचिव थिए भने कर्ण केन्द्रीय सदस्य थिए ।
तत्कालिन नयाँ शक्ति पार्टीमा रहेका कोशी प्रदेश र पूर्वी नेपालका ८० प्रतिशत कार्यकर्ता रास्वपामा प्रवेश गर्ने कर्णले दाबी गरे । ‘बाबुराम भट्टराईलाई बौद्धिक नेता भएपनि माने पनि राजनीतिक कला र चतु¥याइँ नभएको पाएँ,’ कर्णले भने, ‘बाबुरामजी थिङ्क ट्याङ्क त हो, तर राजनीतिमा चाहिने कला उहाँमा देखिएन, सांगठनिक क्षमता शून्य भयो ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।