विराटनगर । विराटनगर–४ स्थित नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयमा पेट्रोलियम क्षेत्रमा कार्यरत कामदार तथा कर्मचारीहरूलाई लक्षित गरी दुई दिने निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ ।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र नेपाल आयल निगम, कोशी प्रादेशिक कार्यालयको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा पेट्रोलियम व्यवसायमा आबद्ध व्यवसायी, कर्मचारीका साथै विशेष गरी लामो तथा छोटो दूरीका ट्याङ्कर चालक र सहचालकहरूको आँखा परीक्षण गरिएको हो ।

पुस ४ गते शुक्रबार र ६ गते आइतबार गरी दुई दिनसम्म चलेको उक्त शिविरमा नेपाल नेत्रज्योति संघ, मोरङ र विराटनगर आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो ।
यातायात क्षेत्रमा काम गर्ने चालकहरूको दृष्टि स्वस्थ भएमा सडक दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुग्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । यस कार्यक्रमलाई एलईईसीएस, अस्ट्रेलियन एड र सीबीएमजस्ता संस्थाहरूले समेत सहयोग गरेका छन् ।
आफ्नै कार्यथलोमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूबाट आँखा जाँच गराउन पाउँदा चालक तथा कर्मचारीहरूले खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार व्यवसायिक सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।