लोड हुँदैछ...

मेनु

विराट ट्रेड एक्स्पोः

उद्यमशीलता प्रवर्द्धन र आर्थिक चलायमानको नयाँ आयाम बन्ने

उद्यमशीलता प्रवर्द्धन र आर्थिक चलायमानको नयाँ आयाम बन्ने

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसँग पुस ९ गतेखि संघले आयोजना गर्न लागेको एक्स्पोको बारेमा गरिएको कुराकानी :

आगामी पुस ९ गतेदेखि सुरु हुन लागेको ‘विराट ट्रेड एक्स्पो’ को तयारी कहाँ पुर्याउनुभयो ?
–आगामी पुस ९ गतेदेखि १९ गतेसम्म मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन हुन लागेको ‘विराट ट्रेड एक्स्पो’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । हामी निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तीव्रताका साथ अघि बढिरहेका छौं । प्रदर्शनी स्थलमा डोम निर्माण भइसकेको छ भने स्टल निर्माणका कार्यहरू पनि द्रुत गतिमा भइरहेका छन् । आजदेखि हामीले सहभागी कम्पनी तथा प्रदर्शकहरूलाई उनीहरूको स्टल हस्तान्तरण गर्न सुरु गरेका छौं, ताकि उनीहरूले आफ्ना उत्पादनहरूको सजावट र व्यवस्थापन समयमै मिलाउन सकून् ।

यसपटकको प्रदर्शनीमा स्टलहरूको व्यवस्थापन र सहभागिता कस्तो रहनेछ ?
–यसपटक हामीले जम्मा २३० वटा स्टलहरूको व्यवस्था गरेका छौं । यसमध्ये १८० वटा स्टलहरू मुख्य डोमभित्र रहनेछन् भने बाँकी स्टलहरू बाहिर अटोमोबाइल र फुड कोर्टका लागि छुट्याइएको छ । हालसम्म लगभग शतप्रतिशत स्टलहरू बुकिङ भइसकेका छन्, यसले व्यवसायीहरूको उत्साहलाई प्रस्ट पार्छ ।

विगतका प्रदर्शनीहरूभन्दा यसपटकको एक्स्पोमा नवीन विशेषताहरू के हुनेछन् वा थपिएका छन् ?
– सामान्यतया नेपालमा हुने मेला–महोत्सवहरू मनोरञ्जनमुखी मात्र हुने गरेको पाइन्छ, तर हामीले यसपटक व्यवसायिक र प्राज्ञिक पक्षलाई पनि उत्तिकै जोड दिएका छौं । एक्स्पो परिसरभित्र १५० जना क्षमताको छुट्टै सेमिनार हल स्थापना गरिएको छ । प्रदर्शनी अवधिभर उद्यमशीलताका विभिन्न आयामहरूमा आधारित रहेर ९ वटा ‘थिमेटिक सेसन’ (विषयगत सत्र) र २५ भन्दा बढी कार्यक्रमहरू सञ्चालन हुनेछन् । यसले नयाँ उद्यमीहरूलाई सिक्ने र अघि बढ्ने ऊर्जा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

उद्यमशीलता र नवप्रवर्तनका लागि के कस्ता ठोस कार्यक्रमहरू तय गरिएका छन् ?
– हामीले स्टार्टअपहरूलाई विशेष प्राथमिकता दिएका छौं । २५ भन्दा बढी स्टार्टअप उद्यमीहरूले आफ्ना अवधारणा (आइडिया) प्रस्तुत गर्ने प्लेटफर्म पाउनेछन् । त्यसैगरी, ‘उदय’ नामक संस्थासँगको सहकार्यमा लघु, साना तथा मझौला उद्योग सम्बन्धी सत्रहरू, बीमा सम्बन्धी तालिम, र कोशी प्रदेश पर्यटन वर्षलाई लक्षित गरी पर्यटन प्रवद्र्धनका छलफलहरू पनि हुनेछन् । पूर्वाञ्चल विश्वविद्यालयसँगको समझदारीमा विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान र उद्यमशीलतासँग जोड्ने प्रयास पनि हामीले गरेका छौं ।

कृषि क्षेत्र र महिला उद्यमीहरूलाई एक्स्पोमा कस्तो स्थान दिइएको छ ?
– कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । यस एक्स्पोमा महिला उद्यमीहरू र पहाडी भेगका कृषिजन्य उत्पादनहरूलाई विशेष प्राथमिकता दिँदै निःशुल्क स्टलहरूको समेत व्यवस्था गरिएको छ । सीमित स्टलहरूका बाबजुद पनि हामीले महिला उद्यमी र स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने नीति लिएका छौं ।

धेरैले यस्ता मेलालाई मनोरञ्जनको थलो मात्र मान्छन्, व्यवसायिक सम्बन्ध (बि टु बि) विस्तारमा यसले कसरी भूमिका खेल्छ ?
–हामीले बि टु बि (बिजनेस टु बिजनेस) र बि टु सी (बिजनेस टु कन्जुमर) दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाएका छौं । उद्योगहरूले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक (लन्च) गर्ने, डिलरहरूसँग भेटघाट गर्ने र नयाँ व्यवसायिक साझेदारी गर्ने अवसर यसले प्रदान गर्नेछ । प्रदर्शनी केवल सामान बेच्ने थलो मात्र नभई नयाँ व्यवसायिक सम्बन्ध र सञ्जाल विस्तारको सशक्त माध्यम बन्नेछ ।

अन्तर्राष्ट्रिय सहभागिता र प्रदर्शनीको क्षेत्र कत्तिको फराकिलो छ ?
–एक्स्पोमा नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशका कम्पनीहरूको पनि सहभागिता रहनेछ । उनीहरूले आफ्ना मौलिक हस्तकला, लत्ताकपडा, मेसिनरी र शैक्षिक क्षेत्रका नवीनतम जानकारीहरू प्रदर्शन गर्नेछन् । यसले अन्तर्राष्ट्रिय बजारका उत्पादन र प्रविधिलाई नजिकबाट बुझ्न सहयोग पुग्नेछ ।

प्रदर्शनी स्थल हरेक वर्ष परिवर्तन गर्नुपर्ने बाध्यता विराटनगरका उद्योगीहरुले भोग्नुपरेको छ । यस पटक पनि नयाँ ठाउँमा एक्स्पो गर्दै हुनुहुन्छ, त्यहाँसम्म उपभोक्तालाई कसरी लैजानुहुन्छ ?
–यसपटक हामीले विराटनगरको मुटुमै प्रदर्शनी आयोजना गर्दैछौं । सहरको बीच भागमा भएकाले र यातायातको सुलभ पहुँच भएकाले सर्वसाधारणलाई आउन–जान निकै सहज हुनेछ । नयाँ ठाउँ भएकाले केही चुनौतीहरू पक्कै छन्, तर यसको अवस्थितिले उपभोक्ता र आगन्तुकहरूको संख्या उल्लेख्य रहने हाम्रो अपेक्षा छ ।

वर्तमान आर्थिक शिथिलताका बीच यस एक्स्पोले कस्तो प्रभाव पार्ला ?
–पछिल्लो समय आर्थिक क्षेत्रमा केही निराशा देखिए पनि यस्ता आयोजनाले बजारमा सकारात्मक ऊर्जा सञ्चार गर्छन्। हामीले मनोरञ्जन क्षेत्रलाई पनि एक उद्योगकै रूपमा लिएका छौं, जहाँ कलाकारहरूले आफ्नो कलामार्फत पर्यटन र स्थानीय अर्थतन्त्रमा योगदान दिनेछन् । यसले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा मानिसहरूलाई एउटा उत्सवमय वातावरण प्रदान गर्नेछ ।

प्रवेश शुल्क र विद्यार्थीहरूका लागि के कस्तो सहुलियत छ ?
–सर्वसाधारणका लागि प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको छ । तर, हामीले ३० भन्दा बढी स्कुल र कलेजहरूसँग समन्वय गरी विद्यार्थीहरूका लागि निःशुल्क अवलोकन र सेमिनारमा सहभागी हुने व्यवस्था मिलाएका छौं । १५० रुपैयाँमा अवलोकनकर्ताले गुणस्तरीय प्रदर्शनी, व्यवसायिक ज्ञान र साँझको सांगीतिक मनोरञ्जनको पूर्ण प्याकेज प्राप्त गर्नेछन् ।

अन्त्यमा, आम नगरबासीहरुलाई के सन्देश दिनुहुन्छ ?
–यो प्रदर्शनी मोरङ उद्योग व्यापार संघको मात्र नभएर सम्पूर्ण विराटनगर र यस क्षेत्रकै गौरवको विषय हो । विगतका सबै कठिनाइहरूलाई बिर्सेर एउटा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्न यो एक्स्पो एउटा महत्त्वपूर्ण खुड्किलो बन्नेछ । म सम्पूर्ण महानुभावहरूलाई यस एक्स्पोको अवलोकन गरी लाभ लिन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।