उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका –२ जोगिदह हाटखोलाचौकमा गएराती दाजुले धारिलो हतियार प्रयोग गरी भाइको हत्या गरेका छन् भने आमा गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन पाचागाईका अनुसार दाजु ४३ बर्षिय युवराज राईले आफ्नै कान्छो भाई ३० वर्षिय धर्मराज राईको हत्या गरेका हुन् । आमा अन्दाजी ५६ वर्षिया रुपमायाको समेत हत्याको प्रयास गरी गम्भीर घाईते बनाएका हुन् ।
अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेका उनी केही दिनदेखि अस्वभाविक देखिदै आएमा थिए । राती घरमा आमासंग पैसाको कुरामा विवाद गरी एक्कासी मरनासन्न हुनेगरी कुटपिट गरी टाउँकोमा धारिलो हतियारले प्रहार गरेका थिए । पछि आमा उपचारमा गएको मौकाछोपी भाइको हत्या गरेका थिए ।
आमा र दुईछोरा गरी तीनजना मात्र सो घरमा बस्दै आएका थिए । दुई श्रीमती भएपनि संगै बस्न नसकेर बाहिर नै बस्दै आएका थिए । कान्छो भाइ लागू औषधमा फसेर सुधार गृहबाट घर फर्केर बस्दै आएका थिए । शारीरिक र मानसिक रुपमा केही सुस्त अवस्थाका भाइलाई धारिलो हतियारले ठाउँ ठाउँमा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
सो घरमा बेलाबेला झै झगडा भइरहने गरेकाले गाउँलेहरुले त्यति चाँसो नदिएको र मध्येरातको हत्या घटना भएकाले पनि धेरैजसो निदाएकाले थाहा पाएका थिएनन् ।
प्रहरीलाई सुरुमै खबर भएको भएपनि आमा घाइते पारेपछि युवराज लुकेका थिए । खोजतलास गर्दा फेला नपरेपछि प्रहरी र गाउँले फर्केको र आमा उपचारमा अस्पताल गएको मौकामा घरमा बसेका भाइमाथि आक्रमण गरी हत्या गरेका थिए ।
घटनापछि स्थानीय स्तब्ध र आतंकित भएको १ नं. वडाध्यक्ष मनोजकुमार चौधरीले बताए । घटनास्थल वडा नं.१ र २ को सिमानामा पर्दछ ।
हत्या गरि फरार रहेका युवराजको प्रहरिले खोजतलास गरिरहेको छ जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईँले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।