काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न आफू ‘चट्टान झैं दृढ’ रहेको उद्घोष गर्नुभएको छ ।
शनिबार राष्ट्रका नाममा विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्लाहरू निराधार र भ्रमपूर्ण रहेको स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनलाई देशमा स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्गको रूपमा चित्रण गर्नुभयो । ‘म तपाईँहरूलाई आश्वस्त पार्न चाहन्छु, सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ,’ उहाँले भन्नुभयो ।
केही समयअघिको जेन्जी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उहाँले सडकको आक्रोशलाई मतपत्र मार्फत व्यक्त गर्न युवाहरूलाई आह्वान गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ तर मतपत्रले समाधान दिन्छ। तपाईँहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्।’
आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको, एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भएको र सेना परिचालन सुनिश्चित गरिएको जानकारी दिनुभयो। आन्दोलनका क्रममा लुटिएका १३४२ मध्ये अधिकांश हतियार बरामद भइसकेको र सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको उहाँको दाबी छ।
सरकारले यस अवधिमा ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेको, ३८ वटा अनावश्यक कार्यालय खारेज गरेको र ५०० सुरक्षाकर्मीलाई भिआईपीको सेवाबाट फिर्ता गरी जनसेवामा खटाएको विषयलाई प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गरिएको छ। भ्रष्टाचार र बेथितिको माखेसाङ्लो तोड्न सरकारले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ अनुसन्धान अघि बढाएको समेत उहाँले उल्लेख गर्नुभयो ।
अन्त्यमा, प्रधानमन्त्री कार्कीले चुनावमा कसले जित्छ वा हार्छ भन्ने कुरा गौण रहेको भन्दै लोकतन्त्र र राष्ट्रियताको जितका लागि फागुन २१ को निर्वाचनलाई राष्ट्रिय अनुष्ठानुका रूपमा सम्पन्न गर्न सबैमा अपील गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।