दमक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा ती हातहतियार र गोलीगठ्ठा फेला परेका हुन् । स्थानीयबासीले बेवारिसे अवस्थामा हातहतियार देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट तीन थान इन्सास राइफल, ३०३ क्यालिबरका १३४ थान जंगी राउण्ड गोली, एसएलआरका पाँच थान जंगी राउण्ड, इन्सासका २० थान जंगी राउण्ड तथा गोली राख्ने बिन्दुली तीन थान बरामद गरेको हो ।
बरामद गरिएका हातहतियार र गोलीगठ्ठा रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।