विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ महिला र बालबालिकाको वास्तविक अवस्था बुझ्न यतिबेला फिल्ड भिजिटमा निस्किएकी छिन् ।
उनले विराटनगरस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, बाल सुधार गृह, बाल हेल्पलाइन र पूर्वाञ्चल बाल सेवा आश्रमको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थिति बुझिन् ।
अनुगमनका क्रममा उनले यी निकायहरूमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले विशेष पहल गर्ने बताइन् । विशेषगरी बाल सुधार गृहको अवस्था अत्यन्तै कमजोर रहेको भन्दै उनले त्यहाँ तत्काल सुधारका कार्यहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।
मन्त्रालयसँग सीमित स्रोत र साधन भए तापनि बालबालिकाको सुरक्षा र अधिकारसँग जोडिएका गम्भीर समस्याहरूलाई प्राथमिकतामा राखेर समाधान गरिने उनले प्रतिबद्धता जनाइन् ।
बजेटको अवस्था र रकमान्तरको सम्भावनाबारे मन्त्रालयको टिमसँग छलफल भइरहेको जानकारी दिँदै उनले भनिन्, “अहिले म समस्याहरूलाई गहिराइबाट बुझ्ने क्रममा छु र छिट्टै प्रभावकारी कदम चाल्नेछु ।” बालबालिकाहरूले भोगिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न आफू पूर्ण रूपमा लागिपर्ने र छिट्टै सकारात्मक नतिजा आउने आश्वासन समेत उनले दिइन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।