लोड हुँदैछ...

मेनु

निर्माण पूरा भएपनि विवादको कारण धरान बसपार्क अलपत्र

निर्माण पूरा भएपनि विवादको कारण धरान बसपार्क अलपत्र

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ मा अत्याधुनिक स्मार्ट बसपार्कको भौतिक निर्माण सम्पन्न भइसके विवादको कारण सञ्चालनमा आएको छैन ।

निजी जग्गा विवाद, क्षतिपूर्ति सम्बन्धी असन्तुष्टि र विगतमा अपनाइएका त्रुटिपूर्ण प्रशासनिक तथा कानुनी प्रक्रियाका कारण करोडौं लगानीको सार्वजनिक संरचना प्रयोगविहीन अवस्थामा छ ।

तीन तले टर्मिनल भवन, व्यवस्थित पार्किङ र आधुनिक सुविधासहित तयार पारिएको छ । तर, बसपार्क सञ्चालनमा आउन नसक्दा सहरको मुख्य क्षेत्र भानुचोक आसपास अझै अव्यवस्थित छ । यात्रुहरू घामपानी सहँदै सवारी कुर्न बाध्य छन् भने सडक छेउछाउमै सवारी रोकिँदा ट्राफिक जाम, दुर्घटनाको जोखिम छ ।

पूर्वी पहाडी जिल्लाको मुख्य प्रवेशद्वारका रूपमा रहेको धरानबाट दैनिक सयौं बस, जिप, माइक्रो र अटो सञ्चालन हुने गरेका छन् । त्यसको सहज व्यवस्थापनको लागि धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गत स्मार्ट बसपार्क निर्माण गरिएको छ ।

बसपार्कभित्र तीनतले टर्मिनल भवन, भूमिगत पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, सुरक्षा प्रणाली, प्राथमिक उपचार कक्ष, होटल, रेस्टुरेन्ट र व्यावसायिक पसल निर्माण भएको छ । बेसमेन्टमा ७२ वटा दुईचक्के, ६० अटो तथा केही कार–जिप पार्क गर्न सकिने क्षमता छ भने खुला क्षेत्रमा एकैपटक ३७ बस र २६ जिप सञ्चालन गर्न मिल्ने पूर्वाधार निर्माण गरिएको छ ।

स्मार्ट बसपार्क निर्माणको ठेक्का बिकोई–गीताञ्जलि जेभीले पाएको थियो । बसपार्क २५ करोड १५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाले जनाएको छ।

धरानमा बसपार्क सार्ने योजना पहिलो पटक २०५६ सालमै अघि बढाइएको थियो। भानुचोकको साँघुरो बसपार्कको विकल्प खोज्दै धरान–८ मा बसपार्क सार्ने निर्णय भएपनि स्थानीय जग्गाधनीको असन्तुष्टि र विवादका कारण योजना लामो समय अलपत्र पर्‍यो।

जर्मन सहयोग नियोग जीटीजेडको प्राविधिक सहयोगमा बस्ती विकाससहितको योजना तयार गरिएको थियो । तर, जग्गा व्यवस्थापन प्रक्रियामा पारदर्शिता नअपनाइएको, सहमतिबिना जग्गा नगरपालिकाको नाममा ल्याइएको र सेटिङमा जग्गा कारोबार गरिएको आरोपसहित स्थानीय जग्गाधनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गरेका थिए।

आयोजना स्वीकृत भएपछि सेटिङमा केही जग्गा व्यापारी र कर्मचारीले सो क्षेत्रमा जग्गा किनेका थिए । उनीहरुको जग्गा बसपार्कको मुखमा पर्ने गरि डिजाइन गरिएपछि जग्गाधनीहरुले संघर्ष समिति बनाएर आन्दोलन गर्दा डेढ दशकसम्म आयोजना र बसपार्क निर्माण अलपत्र परेको थियो । विवाद टुंग्याउन तत्कालिन नगर प्रमुख तारा सुब्बाको पालामा कर्मचारीको नाममा देखिएको जग्गा अधिग्रहण गर्ने निर्णय पनि भएको थियो ।

२०८० सालमा निजी जग्गामा बसपार्क निर्माण गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको थियो। त्यसपछि सार्वजनिक सरोकारको विषय भन्दै अर्को मुद्दा पनि परेको थियो। अदालतबाट उपमहानगरपालिकाको पक्षमा फैसला आएपछि निर्माण सम्पन्न भए पनि सञ्चालन अझै रोकिएको छ।

धरानको बैठकमा नगर प्रमुख हर्कराज राईले पीडित जग्गाधनीलाई आयोजना अन्तर्गतका ‘सेल्स प्लट’ बाट जग्गा दिएर समस्या समाधान गर्ने प्रस्ताव अघि सारेपछि नयाँ विवाद उत्पन्न भएको छ । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले डीपीआरमै सेल्स प्लटको व्यवस्था स्पष्ट नरहेको, बसपार्क अझै पूर्ण रूपमा सञ्चालनयोग्य नबनेको र विषयलाई अतिरञ्जित बनाइएको आरोप लगाए।

कार्यपालिका सदस्य सृजना नेपालले डीपीआर अध्ययन नगरी निर्णय गर्न नहुने बताउँदै बसपार्ककै जग्गा क्षतिपूर्तिका रूपमा दिन नमिल्ने धारणा राखिन्। विवाद चर्किएपछि उपमहानगरपालिकाले धरान–८ का वडाध्यक्ष धनबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा संवाद समिति गठन गरेको छ । समितिमा धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बु, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, प्रशासन महाशाखाका प्रतिनिधि र योजना महाशाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठ सदस्य छन्।

समितिले आयोजना अन्तर्गतका सेल्स प्लटको कानुनी अवस्था, पीडित जग्गाधनीको समस्या र सम्भावित समाधानबारे अध्ययन गरी प्रतिवेदन बुझाएपछि मात्र बसपार्क सञ्चालनबारे निर्णय गरिने उपमहानगरपालिकाले जनाएको छ। बसपार्क भनेर चिनिए पनि त्यो तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्रको एउटा महत्वपुर्ण संरचना हो । तत्कालिन नगरपालिकाले बसपार्क सार्ने भनेपछि स्थानीय जग्गाधनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

जग्गा अधिग्रहण गरेर बसपार्कको लागि जग्गा छुटएर आयोजनाले डिजाइन, नयाँ कित्ताकाट गरेर जग्गाधनीलाई बाँकी जग्गा फिर्ता गरेको थियो । तर, स्थानीयको ५४ प्रतिशतसम्म जग्गा काटिएको र आफ्नो साविकको जग्गाभन्दा धेरै टाढा जग्गा पुगेको भन्दै असन्तुष्ट छन् ।

आयोजनाको कुल क्षेत्रफल १३ बिघा ५ कट्ठा १९ धुर रहेको छ भने बसपार्कको लागि बहुउद्देश्यीय क्षेत्र भनेर डेढ बिघा मात्र छुट्याइएको थियो । बसपार्कको लागि छुट्याएको जग्गा स्थानीय जग्गाधनीहरुले निःशुल्क दिएका हुन् । त्यही डेढ बिघाभित्र टर्मिनल भवन, पार्किङस्थल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।