विराटनगर । मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह ग्रामथान गाउँपालिका–१ स्थित सरस्वती स्कुल पछाडि, सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ ख ५०४९ नम्बरको टिपरबाट माटो झार्ने क्रममा बिहान करिब १० बजे दुर्घटना भएको थियो । माटो झार्ने क्रममा टिपरले ११ हजार भोल्ट क्षमताको विद्युत् लाइनको तारमा छोइँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अपरान्ह १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते सहचालकको उपचारमा चालक स्वयं संलग्न भएको जनाइएको छ । प्रहरीले टिपर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।