लोड हुँदैछ...

मेनु

सडक निर्माणका क्रममा पहिरोले एक्स्काभेटर पुरियो

सडक निर्माणका क्रममा पहिरोले एक्स्काभेटर पुरियो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–५ पेदाङ याङपाङमा सडक निर्माणका क्रममा बिहीबार माथिबाट खसेको पहिरोले एक एक्स्काभेटर पुरिएको छ ।

पहिरो खस्न थालेपछि चालक समयमै भाग्न सफल हुँदा मानवीय क्षति भने हुन पाएन ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सडक माथिबाट खसेको ढुंगा–माटोले एक्स्काभेटरमा क्षति पुगेको छ । एक्स्काभेटर चालक फुङलिङ नगरपालिका–३ का ५८ वर्षीय होमप्रसाद लिम्बू सकुशल रहेका छन् ।

प्रहरीका अनुसार मेसिन पुरिएपछि लिम्बू स्वयंले प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए । हाल पहिरोले पुरिएको एक्स्काभेटर तत्काल निकाल्न सक्ने अवस्था नरहेको यादवले बताए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी सहायक निरीक्षक पर्वत राईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । पहिरो झर्न थालेपछि चालक समयमै भागेकाले मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।