विराटनगर । मोरङका विभिन्न स्थानमा बिहीबार भएको दुई छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जहदा गाउँपालिका–१ बुधनगर टोलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेर हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका ६० वर्षीय बुद्धिराम राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ करिब ६ बजेतिर रुखबाट खसेका राजवंशीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ साँझ ७ः२० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सुनवर्षी नगरपालिका–४ कासीजामस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहीबार राति करिब ८ः१५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा परी सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि राति ८ः४५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डल घाइते भएका छन् । मध्यम अवस्थाका उनलाई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले मोटरसाइकल र साइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यसैबीच, ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा सडकमा रोकेर राखिएको गाडीमा मोटरसाइकल ठोक्किँदा एक जना चालक गम्भीर घाइते भएका छन् । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकलले राति ९ः२० बजेतिर सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको सिमेन्ट घोल्ने मेसिनसहितको गाडीमा ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले तीनवटै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।