विराटनगर । भदौ २४ को प्रदर्शनपछि विभिन्न कारागारबाट फरार भएका १० जना कैदीबन्दीलाई प्रहरीले पुनः पक्राउ गरी मोरङ कारागारमा दाखिला गरेको छ ।
कारागार प्रशासनका प्रमुख गौरव ढुंगेलका अनुसार आन्दोलनका क्रममा फरार भएका ती कैदीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरी मोरङ कारागार ल्याइएको हो ।
पक्राउ परेकामध्ये केही काठमाडौं, सिन्धुली, रौतहट र झुम्का लगायतका कारागारबाट फरार भएका थिए। उनीहरू जबर्जस्ती करणी, कर्तव्य ज्यान, चोरी, लागूऔषध कारोबार, डाँका तथा ज्यान मार्ने उद्योग र तस्करी जस्ता गम्भीर प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा फरारमध्ये केही कैदी लामो समयदेखि भारतको सीमावर्ती क्षेत्रमा लुकेर बसेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै कैदीलाई कानुनी प्रक्रिया पूरा गरी मोरङ कारागारमा दाखिला गरिएको छ । उनीहरूविरुद्ध फरार सम्बन्धी थप मुद्दा पनि चलाइने कारागार प्रशासनले जानकारी दिएको छ।
यसैबीच, कारागार विभागले जेन–जी आन्दोलनपछि देशका विभिन्न कारागारको सुरक्षा प्रणाली पुनरावलोकन गरिएको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा कडाइ गरिने जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।