विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी चलिरहँदा नेताहरूलाई ‘साइज’मा ल्याइएको छ । अध्यक्ष केपी शर्मा ओलीको सर्वशक्तिमान टिम खडा गर्नका लागि उपमहासचिवमा दाबी गरिरहेका राजेन्द्र गौतम र निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यमा सीमित गराइएको हो ।
अध्यक्ष ओलीको ‘ग्रिन सिग्नल’ नपाएपछि र नेतृत्वको दबाब थेग्न नसकेपछि दुवै नेताले पदाधिकारीको दौड त्यागेर केन्द्रीय सदस्यमा चित्त बुझाउँदै ओलीको सिंगो प्यानल जिताउन अपिल गरेका छन् । यसलाई कतिपयले नेताहरूको ‘त्याग’ भनेका छन् भने कतिपयले ओलीको ‘बुलडोजर’ अगाडि नेताहरूको निरीहताका रूपमा विश्लेषण गरेका छन् ।
उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका राजेन्द्र गौतमले अन्ततः नेतृत्वको दबाबका बीच उम्मेदवारी फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बडो कूटनीतिक भाषामा ‘पार्टी नेतृत्वको सुझाव र सल्लाह’ भन्दै पछि हटेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘राष्ट्रिय संकट र चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, नेतृत्वको सुझावमा उपमहासचिवको उम्मेदवारी फिर्ता गरेको छु ।’ उनले अब आफू खुला केन्द्रीय सदस्यमा लड्ने र त्यसमा मत दिन आग्रह गरेका छन् । उनको यो निर्णयले उनी पदाधिकारीको दौडबाट आउट भएर ‘ब्याक’ भएको प्रस्ट हुन्छ ।
उता, वैचारिक नेताका रूपमा चिनिने निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि यसपटक पदाधिकारीमा दोहोरिएन पाएन्न । उनले बिहानै सामाजिक सञ्जालमा सन्देश लेख्दै आफू केन्द्रीय सदस्यमा मात्र लडेको जानकारी दिए । ज्ञवालीले पनि ओली नेतृत्वको टिमलाई ‘शानदार मतका साथ विजयी गराउन’ कार्यकर्तालाई उर्दी नै जारी गरेका छन् ।
‘महाधिवेशनको सर्वाधिक महत्त्वपूर्ण र निर्णायक क्षणमा ओलीले अगुवाइ गर्नुभएको सिङ्गो टिमलाई विजयी बनाउन अपिल गर्दछु,’ ज्ञवालीले लेखेका छन्, ‘म हमेसा कमरेडहरूकै बीचमा छु, यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।