विराटनगर । चन्द्रदेव जोशी र घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी -संयुक्त ले कोशी प्रदेश सम्मेलन आयोजक कमिटीको संयोजकमा महेश रेग्मीलाई जिम्मेवारी दिएको छ ।
पार्टीले संगठन विस्तार र सुदृढीकरणका लागि सातै प्रदेशमा सम्मेलन आयोजक कमिटी गठन गर्दै संयोजक तथा सहजकर्ता तोकेको हो । पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन -अपानि_ अनुसार कोशी प्रदेशको कमाण्ड सम्हाल्ने गरी रेग्मी संयोजक चयन भएका हुन् । कोशीमा रेग्मीलाई सघाउन डम्बर बुढाथोकीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
पार्टीको कार्यविभाजन अनुसार मधेश प्रदेशमा तेजकृष्ण काफ्ले संयोजक तोकिएका छन् भने सहजकर्ताको भूमिकामा हरि काफ्ले रहेका छन् ।
बागमती प्रदेशको संयोजकमा जीवनराम श्रेष्ठ र सहसंयोजकमा उपेन्द्र छटुन्जेल चयन भएका छन् । गण्डकी प्रदेश संयोजकको जिम्मेवारी ओम उपाध्यायले पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशमा हरिप्रसाद पराजुली संयोजक र कृष्णबहादुर गुरुङ सहसंयोजक तोकिएका छन् । कर्णाली प्रदेश संयोजकको जिम्मेवारी शेरबहादुर केसीलाई दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा उर्वादत्त पन्त संयोजक र बीडी जोशी सहसंयोजक बनेका छन् ।
प्रदेश सम्मेलन आयोजक कमिटीमा सम्बन्धित प्रदेशमा घरठेगाना भएका केन्द्रीय सदस्य, दुवै पूर्व पार्टीका प्रदेश सदस्यहरू र अन्य आवश्यक नेताहरूलाई समेटिने अपानिमा उल्लेख छ ।
पार्टीले वैचारिक तथा राजनीतिक दस्तावेज लेखनका लागि कार्यबाहक अध्यक्ष घनश्याम भुसालको संयोजकत्वमा ७ सदस्यीय दस्तावेज लेखन कमिटी समेत गठन गरेको छ ।
कमिटीका सदस्यहरूमा केदार शर्मा, डा. विजयकुमार पौडेल, मधुबहादुर बस्नेत, धर्मराज निरौला, हरि काफ्ले र डम्बर बुढाथोकी रहेका छन् ।
यसका साथै, नयाँ तथा एकीकृत जिल्ला आयोजक कमिटी निर्माण गर्दा हाल कार्यरत जिल्ला कमिटीबाटै संयोजक तथा सहसंयोजक तोक्न र त्यसमा राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यलाई प्राथमिकता दिन पनि पार्टीले निर्देशन दिएको छ ।







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।