विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदानको समय सारिएको छ । यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि समय धकेलिएर अब दिउँसो ३ बजे पुर्याइएको छ ।
केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार प्राविधिक तयारी र व्यवस्थापनका कारण मतदानको समय केही घण्टा पछाडि सारिएको हो । सचिव लामाले गएराति १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको जानकारी दिए । निर्वाचनलाई छिटो र छरितो बनाउन मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने आयोगले जनाएको छ ।
महाधिवेशनको मुख्य आकर्षणको रूपमा रहेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन् । यता, पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवै नेताले आ(आफ्नो प्यानलसहित उम्मेदवारी दिएपछि चुनावी माहोल थप तातिएको छ ।
महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । शंकर पोखरेलले ओली समूहबाट र सुरेन्द्र पाण्डेले पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् ।
यसैगरी, उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा (बादल), भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङ लगायत ११ जना नेताहरूको उम्मेदवारी कायम भएको छ ।
उपमहासचिव पदमा योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल लगायत ७ जना नेताहरू प्रतिस्पर्धामा छन् भने सचिव पदका लागि गोकुल बाँस्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, पद्मा अर्याल, महेश बस्नेत लगायत २० जनाको उम्मेदवारी परेको छ ।
दिउँसो ३ बजेबाट सुरु हुने मतदान प्रक्रियामा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भाग लिनेछन्






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।