विराटनगर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले इलामका युवा नेता सुहाङ नेम्बाङलाई उम्मेदवार नबनाएको पाइएको छ ।
ओली समूहले उम्मेदवारको सूची टुंग्याउँदा इलामका नेता नेम्बाङको नाम केन्द्रीय सदस्यको रुपमा समेटिएको छैन ।
कोशी प्रदेशबाट ओली समूहले पदाधिकारीसहित ५३ जनालार्ई केन्द्रमा उम्मेदवार बनाएकोमा सुहाङलाई नसमेटेकोक हो । एमालेको १०औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवास नेम्वाङका छोरा सुहाङ बाबुको मृत्युपछि इलाम २ को संसदीय उपचुनावमा सानदार जितसँगै राजनीतिमा होमिएका युवा हुन् ।
महाधिवेशन स्थलमा धेरैजनाको आकर्षणको केन्द्र बनेका सुहाङलाई अधिकांश प्रतिनिधिले केन्द्रीय सदस्यमा देख्न खोजेको बताएका थिए । उनीसँग फोटो सेसन गर्नेको पनि उत्तिकै भिड थियो । तर, ओली समूहले उम्मेदवारको लिष्टमा उनको नाम राखेको छैन ।
ओली पक्षले कोशी प्रदेशबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिव भानुभक्त ढकाल तथा सचिवमा हिक्मत कार्की र शेरधन राईसहित पाँच जना पदाधिकारी उम्मेदवार बनाएको छ । यस्तै, प्रदेशगत, खुला, महिला, युवा तथा विभिन्न क्लष्टर समेटेर कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारहरूको सूची पनि तय गरिएको छ ।
सूचीमा मानवीर राई, जीवननाथ घिमिरे, रोमनाथ ओली, रामबहादुर मगर, इन्द्र भण्डारी, मञ्जु भण्डारी, मेनुका काफ्ले, मिना उप्रेती, क्षितिज थेबे लगायतका नाम समावेश छन् । तर, इलामका युवा नेता सुहाङ नेम्बाङ भने उक्त सूचीमा अटाउन सकेनन् ।
ओली समूहले नाम नसमेटे पनि नेम्बाङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा भने गरिसकेका छन् । उनले सार्वजनिक गरेको विज्ञप्तिमा आफू नवपुस्ताको प्रतिनिधिका रूपमा पार्टीको गौरवशाली आन्दोलनलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
नेम्बाङले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीभित्र एकता, सहकार्य र सहमतिको बलमा चुनौती सामना गर्न सकिने धारणा व्यक्त गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।