विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व शिक्षामन्त्री विराटनगर ७ निवासी आमोद प्रसाद उपाध्यायको निधनले मोरङ कांग्रेसले एक अभिभावक गुमाएको छ । ९२ वर्षको उमेरमा निधन भएका उपाध्यायको राजनीतिक यात्रा पञ्चायतको कठोर संघर्षदेखि गणतन्त्रको स्थापनासम्म अनवरत रह्यो ।
मोरङका कांग्रेस नेताहरूले उपाध्यायलाई ‘गिरिजाप्रसाद कोइरालाका विश्वासिला सहयात्री’ र मोरङमा कांग्रेसको संगठन जोगाउने खम्बाको रूपमा स्मरण गर्छन् । उपाध्यायको संसदीय यात्रा २०४८ सालबाट सुरु भएको थियो । २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका उपाध्यायले २०५६ सालको आम निर्वाचनमा भने उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश पाएका थिए । ‘२०५६ सालमा मोरङ–१ र सुनसरी–५ बाट चुनाव जित्नुभएका गिरिजाप्रसाद कोइरालाले मोरङको सिट छोडेपछि भएको उपनिर्वाचनमा आमोद दाइ निर्वाचित हुनुभएको थियो,’ कांग्रेस मोरङका पूर्व सचिव यदु विष्टले भने, ‘त्यसपछि उहाँ शिक्षामन्त्री बन्नुभयो ।’
विष्टका अनुसार उपाध्यायको सबैभन्दा ठूलो राजनीतिक सफलता र पार्टीप्रतिको योगदान २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देखियो । माओवादीको रापतापका बीच मोरङका ९ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ८ वटामा पराजय भोग्दा उपाध्यायले मात्र जित निकालेका थिए । विष्ट भन्छन्, ‘संविधानसभाको पहिलो निर्वाचनमा मोरङका ९ सिटमध्ये उहाँले मात्र जितेर कांग्रेसको बीउ जोगाउनुभएको थियो ।’
पञ्चायत कालमा उपाध्यायको भूमिका केवल कार्यकर्ताको मात्र थिएन, उहाँ संगठनको मेरुदण्ड नै थिए । कांग्रेस नेता शिवनारायण सिंहका अनुसार गिरिजाप्रसाद कोइराला मोरङ कांग्रेसको सभापति हुँदा उपाध्याय जिल्ला सचिव थिए । ‘विश्वबन्धु थापाले चुनाव लड्ने बेला गिरिजाबाबुलाई उठ्न नदिने प्रयास हुँदा पनि उहाँले चुनाव लडेर जित्नुभएको थियो, त्यो बेला आमोद दाइ सचिवका रूपमा सक्रिय हुनुहुन्थ्यो,’ सिंह सम्झन्छन् ।
राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गरेपछि उपाध्यायले करिब ४ महिना जेल जीवन बिताएका थिए । त्यसपछिका आन्दोलनहरूमा पनि उनी पटक–पटक पक्राउ परे । तर, उनको मुख्य भूमिका भनेको प्रवासमा रहेका नेता र स्वदेशका कार्यकर्ताबीचको समन्वय थियो । सिंह भन्छन्, ‘प्रवास (भारत) मा रहेका बीपी कोइराला र गिरिजाबाबुहरूसँग सम्पर्कमा रहेर नेपालबाट सहयोग जुटाउने, चन्दा पठाउने र खबर आदानप्रदान गर्ने काममा उहाँ ‘ब्रिज’ को रूपमा सक्रिय हुनुहुन्थ्यो ।’
मन्त्री हुँदा र सक्रिय राजनीतिमा रहँदा उपाध्यायले आफ्नो निर्वाचन क्षेत्रका जनताको वृत्तिविकासमा ठूलो योगदान पु¥याएको नेताहरू बताउँछन् । नेता सिंहको अनुभवमा उपाध्यायले धेरै युवालाई सरकारी सेवामा प्रवेश गराएका थिए । ‘उहाँले आफ्नो क्षेत्रका धेरै मानिसलाई जागिर लगाइदिनुभयो । मैले एकपटक गन्दा आई.ए. पास गरेका करिब १४०–१४८ जना थिए । जसलाई उहाँले जागिर लगाइदिनुभएको थियो,’ सिंहले सम्झिए, ‘विशेषगरी आदिवासी जनजाति समुदायका युवाहरूलाई प्रहरी र सेनामा भर्ना गराउन उहाँले ठूलो पहल गर्नुभयो ।’
आमोद प्रसाद उपाध्याय कोइराला परिवारको, विशेषगरी गिरिजाप्रसाद कोइरालाको अत्यन्त निकट रहेर काम गरेका नेता हुन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री वा पार्टी सभापति भई व्यस्त हुँदा उहाँको निर्वाचन क्षेत्रको रेखदेख उपाध्यायले नै गर्ने गरेको सिंह बताउँछन् । ‘गिरिजाबाबु वर्षमा २–३ दिनका लागि मात्र क्षेत्रमा आउनुहुन्थ्यो, बाँकी समय उहाँको निर्वाचन क्षेत्र आमोद दाइले नै धान्नुहुन्थ्यो,’ सिंहले भने ।
पछिल्लो समय सुजाता कोइरालाको राजनीतिमा सक्रियता बढेपछि उपाध्याय केही ओझेलमा परेको जस्तो देखिए पनि उनले कहिल्यै पार्टी वा नेतृत्वप्रति चित्त दुखाएनन् । ‘उहाँको परिवारबाट राजनीतिमा आउने उहाँ एक्लो हुनुहुन्थ्यो, उहाँको निधनले मोरङ कांग्रेसले एक निष्ठावान अभिभावक गुमाएको छ,’ नेता सिंहले भने ।
काँग्रेसले उपाध्यायको निधनमा भोलि (पुस १ गते) देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै १ र २ गते तीन दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा पार्टीका झण्डा आधा झुकाइने काँग्रेसले जनाएको छ । क्यान्सर रोगबाट पीडित ९१ वर्षीय उपाध्यायको उपचारका क्रममा शनिबार (मङ्सिर २७ गते) साँझ काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको थियो ।
उपाध्यायको संसदीय र राजनीतिक यात्रा
पञ्चायत विरुद्धको आन्दोलनमा पटक–पटक जेल पर्नुभएका उपाध्यायको संसदीय यात्रा २०४८ सालबाट सुरु भएको थियो ।
२०४८ः राष्ट्रियसभा सदस्यमा मनोनीत ।
२०५६ः मोरङ निर्वाचन क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित (तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरी दुवै ठाउँबाट जितेर मोरङ छोडेपछि उपाध्याय उम्मेदवार बन्नुभएको थियो) ।
२०५६ः शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी ।
२०६२/०६३ः जनआन्दोलन पश्चात् पुनस्र्थापित व्यवस्थापिका संसद्को सदस्य ।
२०६४ः पहिलो संविधानसभा निर्वाचनमा मोरङ–१ बाट निर्वाचित ।
२०६९ः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको संयोजक ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।