विराटनगर । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १५ जना युवा प्रतिनिधि रहने निर्वाचित हुने भएका छन् ।
आइतबार बन्दसत्रमा प्रस्तुत प्रस्तावअनुसार प्रदेश, खुल्ला र समावेशी कोटामार्फत १५ जना युवाको सहभागिता सुनिश्चित गरिएको हो । जुन जम्मा केन्द्रीय सदस्यको ५ प्रतिशत हो ।
प्रस्तावित संरचनाअनुसार उपत्यकासहित आठ प्रदेशबाट एक–एक गरी ८ जना युवा केन्द्रीय कमिटीमा पुग्नेछन् । खुल्ला कोटाबाट २ जना, आदिवासी–जनजातिबाट २ जना, मधेसीबाट २ जना र दलितबाट १ जना युवा प्रतिनिधि समावेश गरिने व्यवस्था छ ।
एमालेले यस संरचनामार्फत पार्टीभित्र पुस्तागत सन्तुलन कायम गर्दै नेतृत्वमा युवाको सहभागिता बढाउने लक्ष्य लिएको दावी गर्दै आएको छ । तर, केन्द्रीय समितिमा प्रतिनिधित्व भने जम्मा ५ प्रतिशतको हुने भएको छ । एमालेले यसपालि प्रतिनिधि ल्याउँदा नै ४० वर्षमुनिका युवाहरूबाट पनि छुट्टै प्रतिनिधि ल्याएको थियो।
केन्द्रीय समितिको प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौजना रहने व्यवस्था गरिएको छ ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ । जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन् ।
यसैगरी, खुल्ला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । सो कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएको छ ।
समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २), मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २), दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १), थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३), मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १) प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना, श्रमिकबाट ३ जना (खुल्ला २, महिला १), अपांगता भएका व्यक्तिबाट १ जना, पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १) र सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १) निर्वाचित हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।