लोड हुँदैछ...

मेनु

श्रीमती हराएको सूचना दिने व्यक्तिले नै हत्या गरेको खुलासा

श्रीमती हराएको सूचना दिने व्यक्तिले नै हत्या गरेको खुलासा

संखुवासभा । श्रीमतीको हत्या गरेको आरोपमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। शेर्पाले नै आफ्नी श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

मंसिर ९ गते राति साढे १० बजेतिर ओखरबोट बजारबाट घर फर्किने क्रममा श्रीमती मिना शेर्पा बाटोमै बेपत्ता भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए। तर, अनुसन्धानका क्रममा मिनाको हत्या भएको खुलेको छ ।

प्रहरीका अनुसार सोही राति घर फर्किने क्रममा विवाद भएपछि कुटपिट गरी श्रीमतीको हत्या गरिएको पाइएको छ । शव त्रिपालले बेरेर खाल्डो खनी गाडिएको स्वीकार प्रेम दोर्चीले गरेका छन्।

संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार हत्या गरेर गाडिएको अवस्थामा शव उत्खनन गरिएको छ। घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो। प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।