लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा ‘एर्लागन’ का औषधि खरिदमा प्रतिबन्ध, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’

कोशी प्रदेशमा ‘एर्लागन’ का औषधि खरिदमा प्रतिबन्ध, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’

विराटनगर । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरुको खरिदमा पूर्ण रूपमा रोक लगाएको छ । म्याद गुज्रिएका औषधिहरुको सोधभर्ना सम्बन्धी विवादका कारण संघले आज आइतबार देखि कोशी प्रदेशभर लागू हुने गरी उक्त कम्पनीको औषधि खरिद नगर्ने निर्णय गरेको हो ।

विशेष गरी आँखामा लगाउने जेल तथा ड्रपहरू उत्पादन गर्ने एर्लागन कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ हो । आयातकर्ता कम्पनीले म्याद सकिएका औषधि फिर्ता लिने सम्बन्धमा व्यवसायी हित विपरित अडान राखेपछि संघले कठोर कदम चालेको जनाएको छ ।

के हो विवाद ?
आयातकर्ता प्रिया ट्रेडिङले औषधिको म्याद सकिएको ९० दिन पछाडि फिर्ता नलिने बताउँदै आएको छ । तर, नेपाल औषधि व्यवसायी संघको विधान र नियमावलीअनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा पसल (रिटेलर) बाट १८ महिनासम्म र थोक बिक्रेता (होलसेलर) बाट २१ महिनासम्म आयातकर्ताले फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने स्पष्ट व्यवस्था छ ।

संघका कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्लेका अनुसार आयातकर्ता कम्पनीले संस्थाको नियमावली पालना नगरेको र म्याद गुज्रिएका औषधिको क्षतिपूर्ति दिन आनाकानी गरेको कारण खरिद रोक्का गरिएको हो ।

संघले यसअघि मंसिर २४ गते पत्र मार्फत आयातकर्ता प्रिया ट्रेडिङलाई म्याद गुज्रिएका औषधिहरूको शतप्रतिशत क्षतिपूर्ति दिन आग्रह गरेको थियो । अन्यथा प्रदेशभर खरिद रोक्का गर्न बाध्य हुने चेतावनी दिइएको थियो ।

संघका महासचिव लक्ष्मण माझी चौधरी र अध्यक्ष काफ्लेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “पठाएको पत्रको जवाफ चित्तबुझ्दो, नियमसंगत र व्यवसायी मैत्री नआएको हुँदा आज मिति २०८२ मंसिर २८ गते देखि समस्या समाधान नहुन्जेल सम्मको लागि कोशी प्रदेश भरी खरिद रोक्का गरिएको छ ।”

संघले कोशी प्रदेशका सम्पूर्ण आधिकारिक थोक बिक्रेता र अस्पताल फार्मेसीहरूलाई अर्को सूचना नआएसम्म एर्लागन कम्पनीका औषधि खरिद नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।