विराटनगर । ‘जेनजी’ (Gen-Z) पुस्ताले दिएको ‘सच्चिने कि सक्किने’ भन्ने चेतावनीलाई आफूले सुध्रिने अवसरका रूपमा लिएको बताउँदै नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप रोक्ने सामर्थ्य हतियारमा नभई जनताको एकतामा निहित रहेको बताएका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा हुने विदेशी चलखेललाई रोक्न भौतिक हतियार वा व्यालेस्टिक मिसाइल प्रयोग गर्ने क्षमता आफूहरूसँग नभएको यथार्थ औंल्याए । उनले भने, ‘विदेशी शक्तिहरूको चलखेल हुनु नौलो होइन । तर, हामीसँग त्यो रोक्न व्यालेस्टिक मिसाइल छैन । तसर्थ, जनताको तागत र सुदृढ एकता नै हाम्रो मुख्य शक्ति हो ।’
सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले पुराना दल र नेताहरूलाई गम्भीर चुनौती खडा गरेको स्वीकार गरे । उनले युवाहरूको खबरदारीलाई धन्यवाद दिँदै भने, ‘उहाँहरूले हामीलाई सच्याउने मौका दिनुभयो, यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।’
सरकारले युवाहरूमाथि गरेको दमनको आलोचना गर्दै प्रचण्डले जेनजीले उठाएका मुद्दाहरू आफ्नो पार्टीको एजेन्डासँग मिल्दोजुल्दो रहेको दाबी गरे । हजारौँ युवाहरू अहिले आफूसँग जोडिएको र आफूलाई अभिभावकका रूपमा हेरेको भन्दै उनले यसबाट विपक्षी शक्तिहरू आत्तिएको टिप्पणी गरे । साथै, जनतासँग आत्मसमीक्षा गर्दै तल्लो तहसम्म पुग्दा पार्टीप्रति पुनः उत्साहजनक वातावरण बनेको उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।