लोड हुँदैछ...

मेनु

एमालेका दुई पोलिटब्युरो सदस्यद्वारा पार्टीबाट राजीनामा

एमालेका दुई पोलिटब्युरो सदस्यद्वारा पार्टीबाट राजीनामा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु हुनु ठीक अघि पार्टीका दुई वरिष्ठ केन्द्रीय नेताले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्। शनिबारदेखि सुरु हुने महाधिवेशनको पूर्वसन्ध्यामा पोलिटब्युरो सदस्यद्वय दल राना मगर र भूपेन्द्र थापा मगरले नेतृत्वका लागि उम्मेदवारी नदिने निर्णय गरेका हुन्।

दुवै नेताले सक्रिय राजनीतिबाट अलग हुनुको मुख्य कारण पारिवारिक व्यस्तता र समयको अभाव बताएका छन्। नेता दल राना मगरले पारिवारिक कारणले पार्टीलाई पर्याप्त समय दिन नसक्ने अवस्था आएको बताए। उनले भने, ‘समय दिन नसक्ने भएपछि पद मात्र ओगटेर बस्नु उचित हुँदैन भन्ने निष्कर्षमा पुगेर अब नउठ्ने घोषणा गरेको हुँ।’

रानाले अब आफू केन्द्रीय कमिटीमा नउठ्ने र पार्टीको साधारण सदस्यको भूमिकामा मात्र रहने स्पष्ट पारे। उनी २०४७ र २०५१ सालमा एमाले पाल्पाको सचिव तथा २०५६ सालदेखि निरन्तर एमाले केन्द्रीय सदस्यको भूमिकामा थिए।

अर्का पोलिटब्युरो सदस्य भूपेन्द्र थापा मगरले पनि पारिवारिक समस्याका कारण सक्रिय जिम्मेवारी लिन नसक्ने बताए। उनले आफ्नो बाध्यात्मक परिस्थिति सुनाउँदै भने, ‘श्रीमती बिरामी हुनुहुन्छ, छोरा–बुहारी विदेशमा छन्। समय दिन नसक्ने भएका कारणले सक्रिय जिम्मेवारी नलिने निर्णय गरेको हुँ।’

थापाले अब आफू पार्टीको केन्द्रीय सल्लाहकारको भूमिकामा मात्र रहने बताए। उनी २०६२ मा एमाले म्याग्दी सचिव, २०६८ मा धौलागिरी अञ्चल कमिटी सचिव र २०७१ देखि केन्द्रीय कमिटी सदस्य रहँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds