विराटनगर । नेकपा एमालेले आसन्न महाधिवेशनमा विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित संरचनामा कुनै हेरफेर नहुने स्पष्ट पारे । उनका अनुसार अब पार्टीको नेतृत्व २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीकै आधारमा गठन हुनेछ ।
बैठकले पदाधिकारीको संख्या बढाउने लगायत विधान संशोधनसँग सम्बन्धित कुनै पनि निर्णय गरेन । उपमहासचिव ज्ञवालीले भदौमा पारित विधान बाहेक अन्य कुनै संशोधन नहुने बताए ।
यसैगरी, सचिवालय बैठकले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको छ । महाधिवेशनमा निर्वाचित भएर आउने प्रतिनिधि र पदेन आयोजकको हैसियतमा रहनेहरूको कुल संख्याको ५ प्रतिशत सदस्य मनोनयन गर्ने प्रावधान अनुरूप यो निर्णय गरिएको हो । मनोनित प्रतिनिधिहरूको नामावली भने शनिबार (भोलि) सार्वजनिक गरिने जनाइएको छ ।
बैठकले सरकार र ‘जेनजी’ प्रतिनिधिबीच भएको भनिएको सम्झौताको विरोध गरेको छ । संविधान र प्रचलित कानूनभन्दा बाहिर गएर सम्झौता गर्ने अधिकार कुनै पनि सरकारलाई नहुने निष्कर्ष निकाल्दै एमालेले सो सम्झौताको विरोध गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।