लोड हुँदैछ...

मेनु

एमाले ताप्लेजुङका दुई नेताद्वारा स्पष्टीकरण बुझाउँदै भने, ‘हामीले कुटेका होइनौँ, उल्टै मुक्का खायौँ’

एमाले ताप्लेजुङका दुई नेताद्वारा स्पष्टीकरण बुझाउँदै भने, ‘हामीले कुटेका होइनौँ, उल्टै मुक्का खायौँ’

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको कारबाहीमा परेका ताप्लेजुङका दुई नेताले स्पष्टीकरण पत्र बुझाएका छन्। महाधिवेशन प्रतिनिधि छनौटको क्रममा विवाद हुँदा पार्टी सदस्यताबाट निलम्बनमा परेका प्रदेश कमिटी सल्लाहकार बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशङ्कर पोमुले स्पष्टीकरण पेश गरेका हुन्।

मंसिर ६ गते एमालेको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया चलिरहँदा निर्वाचन कमिटीका संयोजक राम चुडालमाथि साङ्घातिक आक्रमण गरेको तथा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याएको आरोपमा प्रदेश कमिटीले उनीहरूलाई जिम्मेवारीबाट मुक्त गर्दै पार्टी सदस्यताबाट निलम्बन गरेको थियो। कमिटीले उनीहरूलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। सोही पत्रको आधारमा कारबाहीको १४ औँ दिनमा आज उनीहरूले जवाफ पठाएका हुन्।

प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको स्पष्टीकरण पत्रमा दुवै नेताले आफूहरूमाथि लागेको साङ्घातिक आक्रमणको आरोप अस्वीकार गरेका छन्। उनीहरूले निर्वाचन संयोजक राम चुडालमाथि आफूहरूले हातपात नगरेको तर उल्टै संयोजक चुडालले मणिशङ्कर पोमुको आँखामा मुक्का प्रहार गरेको दाबी गरेका छन्।

नेता मणिशङ्कर पोमुले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘मेरो विरुद्ध परेको उजुरी निवेदन हेर्न माग्दा निर्वाचन संयोजक कमरेड राम चुडालले एक्कासी मेरो दायाँ आँखामा मुक्का प्रहार गर्नुभयो। त्यही बीचमा एकआपसमा तानातान र ठेलाठेल मात्र भएको हो, त्यहाँ कुनै अप्रिय घटना वा साङ्घातिक आक्रमण भएको छैन ।’

पोमुले आफू पीडित भएको दाबी गर्दै संयोजक चुडाल विरुद्ध कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा लिखित उजुरी समेत दिएको पत्रमा उल्लेख गरेका छन्। आफ्नो दायाँ आँखामा चोट रहेको र उपचाररत रहेको भन्दै उनले आफू महाधिवेशनमा जान नपाए पनि पार्टी हितका लागि सधैं लागिरहने बताएका छन्।

अर्का नेता बलबहादुर साम्सोहाङले पनि सोही व्यहोराको स्पष्टीकरण बुझाउँदै संयोजक चुडालले नै पोमुको आँखामा प्रहार गरेपछि सामान्य तानातानको स्थिति सिर्जना भएको जिकिर गरेका छन्। उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा उत्पन्न परिस्थितिलाई पार्टीले सही विधिबाट हल गर्नुपर्नेमा जोड दिँदै आफू सधैं पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

स्पष्टीकरणमा दुवै नेताले पार्टीको कारबाहीले आफूहरूलाई दुःखी बनाएको भए पनि पार्टीको निर्णयलाई शिरोधार्य गर्ने र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफूहरूको नाम हटाएर निर्वाचन कमिटीले नामावली प्रकाशन गरेकोप्रति कुनै आपत्ति नरहेको समेत स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds