विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं २ को सभापति पदमा युवा नेता पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा होमिएका पाठकले पार्टी संगठनलाई सुदृढ र चलायमान बनाउन आफूले वडा सभापतिमा दाबी गरेको बताएका छन्।
महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति सुरु गरेका पाठकले नेविसंघको जिल्ला समितिमा रहेर समेत काम गरिसकेका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका उनी नेपाली कांग्रेस मोरङको युवा तथा खेलकुद विभागका सदस्य समेत हुन्।
सरल स्वभाव र मिजासिलो व्यवहारका कारण पाठक अग्रजदेखि अनुज पुस्तासम्म लोकप्रिय छन्। वडाका अग्रज क्रियाशील सदस्यहरूसँग सम्मान र आदरसहित प्रस्तुत हुने पाठक विशेषगरी ‘जेन्जी’ (Gen-Z) उमेर समूहका युवाहरूमाझ बढी प्रिय छन्। नयाँ पुस्तालाई कसरी कांग्रेससँग जोड्न सकिन्छ भन्ने विषयमा उनी निरन्तर युवाहरूसँग छलफल र अन्तरक्रिया गर्दै आएका छन्। युवा पुस्ताको भावना बुझेर उनीहरूलाई राजनीतिमा आकर्षित गर्न सक्ने खुबी आफूसँग रहेको पाठक बताउँछन्।
राजनीतिलाई मात्र नभई समाज सेवालाई पनि साथै लैजाने पाठक वडामा आइपर्ने हरेक समस्यामा अग्रपंक्तिमा देखिन्छन्। वडामा बाढीको विपद् होस् वा कोरोना महामारीजस्तो विषम परिस्थिति, पाठक सधैं जनताको घरदैलोमा सहयोगी हात बनेर पुग्ने गरेका छन्। उनले वडाका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक यात्रामा निरन्तर सहयोग गर्दै आएका छन्।
राजनीतिलाई पेशा ठान्ने प्रवृत्तिको खुलेर विरोध गर्ने पाठकले आफू वडा सभापतिमा निर्वाचित भए आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले भने, “मेरो उद्देश्य पद ओगट्नु होइन, संगठन बलियो बनाउनु हो। यदि म वडा सभापति भएँ भने आउँदो स्थानीय चुनावमा वडा अध्यक्षको टिकट लिन्नँ, म पूर्ण रूपमा पार्टी संगठनलाई मजबुत बनाउन लाग्नेछु।” जनताको नाडी छामेर दुई दिने नाटक गर्ने नेताहरूविरुद्ध आफू दरिलो भएर उभिने उनले बताए। विकास र निकासका लागि कुशल नेतृत्वको खाँचो रहेको औंल्याउँदै उनले भने, “हामीले नगरे कसले गर्ने? युवाले बागडोर नसम्हाले कसले सम्हाल्ने? अब सक्षम नेतृत्वका लागि युवा अघि सर्नुको विकल्प छैन।”






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।