विराटनगर । कोशी प्रदेशमा यो वर्ष धान उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन कम भएको हो ।
गत वर्ष ११ लाख २२ हजार २२१ मेट्रिक टन फलेको प्रदेशमा यो वर्ष ११ लाख २ हजार ९४९ मेट्रिक टनमा सीमित भएको छ । कृषि विज्ञहरूले रोपाइँका समयमा परेको खडेरी र काट्ने बेलामा परेका अविरल वर्षालाई उत्पादन घट्नाका मुख्य कारणका रूपमा पहिचान गरेका छन् ।
कीराको प्रकोप तथा केही क्षेत्रमा किसानले धान त्यागेर वैकल्पिक बालीतर्फ मोडिनुले पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। धान उत्पादन मात्र नभएर यो वर्ष खेतीयोग्य क्षेत्र पनि घटेको पाइएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टरमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जानकारी दिएको छ ।
धान उत्पादनका प्रमुख जिल्ला मोरङ, झापा र सुनसरीमा मात्र उत्पादन घटेपछि प्रदेशको कुल तथ्यांकमा प्रत्यक्ष असर परेको हो। झापामा मात्रै करिब २८ हजार टन उत्पादन घट्दै यो वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिक टनमा सीमित भएको छ ।
मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेकोमा यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्र उत्पादन भयो। सुनसरीमा पनि उत्पादन २ लाख १७ हजार टनबाट घटेर २ लाख ११ हजार ६०८ टनमा झरेको छ।
कृषि विज्ञहरूले आगामी वर्ष धान उत्पादन स्थिर राख्न सुधारिएको बीउ, सिँचाइ विस्तार तथा आपतकालीन कृषि सहयोग कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।