काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले ११औँ महाधिवेशनको संघारमा आज (मंसिर २६ गते) काठमाडौंमा युवा भेला आयोजना गर्दैछ । महाधिवेशन उद्घाटनको ठिक एक दिनअघि पोखरेल समूहले आफ्नो पक्षमा माहोल बनाउने उद्देश्यले यो भेला राखेको हो ।
काठमाडौंको थापागाउँस्थित ‘काठमाडौं ब्यांक्वेट’मा आयोजना हुने उक्त भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले यसपटकको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका पोखरेलले आफ्नो पक्षमा माहोल सिर्जना गर्न र शक्ति सञ्चय गर्नका लागि आजको युवा भेला आयोजना गरेका हुन् ।
उनी अध्यक्ष ओलीको मुख्य प्रतिस्पर्धीका रूपमा अघि सरेसँगै एमालेको ११औँ महाधिवेशनमा चुनावी रौनक र ध्रुवीकरण बढेको छ । स्मरण रहोस्, एमालेको ११औँ महाधिवेशन भोलि अर्थात् मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।