विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीको आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राईले आफू सचिव पदको तयारीमा रहेको जानकारी दिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तर साथ दिँदै आएका राईले यसपटक पार्टीभित्र आफूलाई पदाधिकारीका रूपमा अघि बढाउने माहोल बनेको बताए ।
पार्टीमा क्रमिक रूपमा जिम्मेवारी सम्हाल्दै र अनुभव बटुल्दै आएकाले सचिव पदमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टी पदाधिकारीमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा मेरो दाबी सचिवमा रहन्छ ।’
राईले चितवनमा भएको १०औँ महाधिवेशनमा पनि आफू पदाधिकारीमा जान चाहेको भए पनि पार्टीभित्रको सहमतिको प्रयासलाई सघाउँदै स्थायी कमिटी सदस्यमै बस्नुपरेको स्मरण गरे । पार्टीका हरेक चुनौती र सङ्कटका घडीमा आफू नेतृत्वको पक्षमा अडिग भएर उभिएको दाबी गर्दै राईले भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हुँ । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।’ आफूले सधैं पार्टीको विधि र नेतृत्वलाई सहयोग गरेकाले यसपटक पदाधिकारीमा निर्वाचित हुनेमा उनी विश्वस्त देखिएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।