लोड हुँदैछ...

मेनु

काँग्रेसले भेटेन जेनजी उम्मेद्वार, लिम्बू भन्छन् ५० वर्ष कटेका मात्रै उम्मेद्वार हुने देख्छु

काँग्रेसले भेटेन जेनजी उम्मेद्वार, लिम्बू भन्छन् ५० वर्ष कटेका मात्रै उम्मेद्वार हुने देख्छु

विराटनगर । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जति नै ‘जेनजी’ (नयाँ पुस्ता) र नेतृत्व हस्तान्तरणको वकालत गरे पनि व्यवहारमा भने त्यसको ठीक विपरीत देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरबाट सिफारिस भएका करिब ५१ उम्मेद्वारहरूको सूचीमा पुराना, वृद्ध र पटक–पटक परीक्षण भइसकेका नेताहरूकै वर्चस्व देखिएको छ।

पार्टीको तल्लो तहबाट आएका सिफारिसमा ७० वर्ष कटेका र बारम्बार मन्त्री रसांसद बनेका ‘टेस्टेड’ अनुहारहरू नै अगाडि छन्। सुनसरी–३ बाट १२ पटक मन्त्री र ५ पटक उपप्रधानमन्त्री भइसकेका ७३ वर्षीय विजयकुमार गच्छदार, सुनसरी–२ बाट ७३ वर्षीय सिताराम मेहता, उदयपुर–१ बाट ७९ वर्षीय डा। नारायण खड्का, मोरङ–६ बाट ७६ वर्षीय डा. शेखर कोइराला र मोरङ–४ बाट ७१ वर्षीय पूर्वअर्थमन्त्री महेश आचार्य पुनः उम्मेद्वारको सिफारिसमा परेका छन्।

साथै, ६८ वर्षीय डा. मिनेन्द्र रिजाल र मोरङ–१ बाट पटक–पटक सांसद बनेका डिकबहादुर लिम्बू पनि पुरानै अनुहारका रूपमा दोहोरिएका छन्। सिफारिसमा पुस्तान्तरणको साटो परिवारवाद समेत देखिएको छ। झापा–३ बाट नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाको नाम सिफारिस भएको छ। काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले यस पटकको निर्वाचनमा बन्ने उम्मेद्वारहरु ५० वर्ष मुनिका हुने सम्भावना कम रहेको बताए ।

तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले जेनजी आन्दोलनले खोजेको परिवर्तन र पुस्तान्तरणलाई पाखा लगाउँदै ‘नेपो किड्स’ र पुरानालाई मात्र अवसर दिइएकोमा असन्तुष्टि जनाएका छन्।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले नयाँ दल र स्वतन्त्र उम्मेद्वारहरूको आकर्षण बढिरहेको समयमा पुराना दलले ‘टेस्टेड’ अनुहार नै दोहोर्‍याउँदा नतिजा प्रतिकूल हुन सक्ने चेतावनी दिएका छन्। काँग्रेस केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई उम्मेद्वार नबनाउने परिपत्र जारी गरे पनि सुनसरी–३ मा दुहबीका मेयर वेदकुमार गच्छदारको नाम सिफारिस भएको छ। क्षेत्रीय समितिहरूले सिफारिस गरेका नामहरू मंसिर मसान्तभित्र केन्द्रमा पुगिसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds