विराटनगर । नेपाली काँग्रेसले कोशी प्रदेशका चार महत्त्वपूर्ण जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ।
यी चार जिल्लाका कुल १७ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि जम्मा ५१ जना उम्मेद्वारहरूको नाम माथिल्लो तहमा सिफारिस गरिएको हो। सिफारिस गरिएका नामहरूमा पार्टीका केन्द्रीय स्तरका प्रभावशाली नेताहरूदेखि स्थानीय नेतासम्म समेटिएका छन् भने केही क्षेत्रमा सर्वसम्मत रूपमा एकल नाम सिफारिस भएको छ।
पार्टीको गढ मानिने मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा एकल नाम सिफारिस भएको छ। मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा र क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ। अन्य क्षेत्रहरूमा भने एकभन्दा बढी आकांक्षी देखिएका छन्। मोरङ क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बु, खड्ग फागो र दिव्या बस्नेतको नाम पठाइएको छ भने क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, शिवनारायण सिंह र नारायणी पण्डित सिफारिसमा परेका छन्।
त्यस्तै क्षेत्र नम्बर ४ बाट महेश आचार्य, दिलिप गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेत तथा क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस गरिएको छ।
झापा जिल्लाको ५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको छ। झापाका अन्य क्षेत्रहरूमा भने धेरै आकांक्षीहरू देखिएका छन्। क्षेत्र नम्बर २ मा सरिता प्रसाई, छत्र गिरी र सजेश सिवाकोटीको नाम रहँदा क्षेत्र नम्बर ३ मा श्याम सिटौला, नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टीकाराम ढकाल र सिताराम खड्का गरी ६ जनाको नाम सिफारिस भएको छ। झापा क्षेत्र नम्बर ४ मा देउमान थेबे र उत्तम चौलागाई तथा क्षेत्र नम्बर ५ मा मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम सिफारिस सूचीमा छ।
सुनसरी जिल्लाका ४ निर्वाचन क्षेत्रबाट पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताहरूको नाम सिफारिस भएको छ। सुनसरी क्षेत्र नम्बर १ मा उमेश थापा, विनोद राई, मिनबहादुर विश्वकर्मा र माधव घिसिङ सिफारिस हुँदा क्षेत्र नम्बर २ मा राजीव कोइराला, राजीव ढुंगाना र सिताराम मेहता परेका छन्। क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदार र वेद गच्छदारको नाम छ भने क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्र कार्की, गफार अन्सारी, डिल्ली कार्की र डा. अबुल हुसेन अन्सारी सिफारिस भएका छन्।
उदयपुर जिल्लाका २ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदुर बस्नेत लगायतको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा रामकुमार राई लगायतको नाम पठाइएको छ। सम्बन्धित क्षेत्रीय समितिहरूले पठाएको यो सूचीमा अब जिल्ला र प्रदेश समिति हुँदै केन्द्रले अन्तिम उम्मेद्वार चयन गर्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।