विराटनगर । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेताहरूले आ–आफ्नो कित्ता स्पष्ट पार्न थालेका छन् । कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बूले आगामी अधिवेशनमा कोशी प्रदेशको पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मोरङ जिल्लाको तीन कार्यकाल सभापति चलाइसकेका लिम्बूले अब आफ्नो भूमिका प्रदेशको नेतृत्वमा हुने बताए । ‘मेरो चाहना र तयारी कोशी प्रदेश सभापतिमा छ । साथीहरूसँग सघन छलफल गरेर म अघि बढ्छु,’ उनले भने, ‘अहिले सबैसँग सल्लाह भने भएको छैन ।’
उनले आगामी महाधिवेशनबाट केन्द्रीय सभापतिमा भने डा. शेखर कोइरालालाई बनाएर जानु नै पार्टीका लागि सबैभन्दा उत्तम विकल्प हुने बताएका छन् । पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको बहस चलिरहँदा नेता लिम्बूले ‘परिपक्व अनुभव र युवा जोस’ को मिश्रण अहिलेको आवश्यकता भएको औँल्याउँदै डा. कोइराला र महामन्त्री गगन थापाबीचको मिलन अपरिहार्य रहेको दाबी गरेका हुन् ।
१४औँ महाधिवेशनमा एउटै प्यानलबाट प्रतिस्पर्धा गरेका डा. कोइराला र महामन्त्री थापा १५औँ महाधिवेशनमा पनि एक ठाउँमा उभिनुपर्ने लिम्बूको तर्क छ । ‘डा. शेखर कोइराला १४औँ महाधिवेशनमा सम्मानजनक मत ल्याएको र पार्टीको मध्यमार्गी धारलाई नेतृत्व गरिरहनुभएको नेता हो,’ लिम्बूले भने, ‘उमेर र अनुभवले उहाँ परिपक्व हुनुहुन्छ भने गगनजीसँग युवाको भरोसा र लोकप्रियता छ । शेखर दाइलाई सभापति र गगनजीलाई प्रधानमन्त्री वा अन्य कार्यकारी भूमिकामा व्यवस्थापन गरेर जाँदा पार्टी र देश दुवैलाई फाइदा हुन्छ ।’
डा. कोइरालाले संसदीय दलको नेताको निर्वाचनमा गगन थापालाई प्रस्तावक बसेर अघि बढाएको स्मरण गराउँदै लिम्बूले कोइराला नै युवालाई स्पेस दिने र पार्टीलाई एकढिक्का बनाउने ‘उपयुक्त पात्र’ भएको जिकिर गरे । पछिल्लो समय कांग्रेस केन्द्रीय समिति बैठक बस्न नसक्दा र पार्टी ‘डेडलक’ (गतिरोध) मा फस्दा डा. कोइरालाले भूमिका खेल्न नसकेको भन्ने आलोचनाको लिम्बूले प्रतिवाद गरेका छन् । ‘शेखर कोइराला मौन बस्नुभएको होइन । बरु उहाँले नै दुई वर्ष अघिदेखि २०८२ भित्र नियमित महाधिवेशन गर्न नेतृत्वलाई खबरदारी गरिरहनुभएको छ,’ लिम्बूले भने, ‘पार्टी संवैधानिक संकटमा फस्ला भनेर उहाँले विशेष महाधिवेशनको विकल्प समेत अघि सार्दै निकास खोज्न लबिङ गर्नुभएको हो ।’
कोइरालाले पार्टीलाई दुर्घटनाबाट बचाउन जिम्मेवार र समन्वयकारी भूमिका खेलेको भन्दै लिम्बूले महामन्त्रीद्वय र कोइरालाबीच बाहिर हल्ला आएजस्तो विवाद नरहेको र निरन्तर संवाद भइरहेको खुलासा गरे । जेनजी र नयाँ पुस्ताको कुरा उठिरहँदा उम्मेदवार सिफारिसमा पुराना अनुहार दोहोरिएको विषयमा लिम्बूले विधानमै व्यवस्था नभएसम्म यो समस्या रहिरहने बताए । ‘हामीले वडादेखि केन्द्रसम्म सभापति दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था ग¥यौँ, तर सांसद र मन्त्री कति पटक हुने भन्ने विधानमा छैन,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न पार्टीभित्र छलफल चलिरहेको छ ।’ यद्यपि, वडा तहमा ८० प्रतिशतभन्दा बढी नेतृत्व ४० वर्ष मुनिको आउने भन्दै उनले कांग्रेस क्रमशः रूपान्तरणको बाटोमा रहेको दाबी गरे ।
खेलकुद मन्त्री हुँदा उल्लेख्य काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूले सीमित बजेटका बाबजुद खेलकुदको जग बसाल्ने काम गरेको दाबी गरे । ‘२ अर्बको बजेटलाई साढे १५ अर्ब पु¥याउने काम मैले गरेँ,’ उनले भने, ‘विराटनगर, चितवन र मूलपानीको क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय मेरै पालामा भएको हो ।’ आफूले सुरु गरेका कामको नतिजा आउन समय लाग्ने तर आफूले इमानदार प्रयास गरेको उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।