विराटनगर । नेकपा एमालेको आगामी ११ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आउन थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिको प्रयास वा आफ्नो अनुकूलको टिम बनाउन खोजिरहेको चर्चा चलिरहँदा, एमालेका एक प्रभावशाली पोलिटब्युरो सदस्यले भने अध्यक्ष ओलीलाई ‘प्यानल’ नबनाउन चेतावनी दिएका छन् । यद्यपि उनले नाम नखुलाउन आग्रह गरे ।
उनले अध्यक्ष ओलीको कोर टिमले आफूलाई पाखा लगाउन खोजेको गुनासो मात्र गरेनन, अध्यक्षले समूहबन्दी गरेर चुनाव लडे त्यो स्वयं ओलीका लागि प्रत्युत्पादक हुने विश्लेषण समेत सुनाए ।
एमालेभित्र अहिले अस्वाभाविक मौनता रहेको उनको दाबी छ । पोलिटब्यूरो सदस्य रहेका उनले नेता कार्यकर्ताहरू खुलेर बोल्न नसकेको र सबैले परिस्थिति हेरेर (क्याल्कुलेटिभ) कदम चालिरहेको दाबी गरे । ‘अहिले बीचमा सबैजना मान्छे बोलिराख्या छैनन् । एकदम क्याल्कुलेटिभ छ हाम्रो पनि,’ उनले भने, ‘अलिअलि आलोचनात्मक ढंगले बोल्ने मान्छेहरूमाथि झन् सारो यसो पर बसेर हेर्ने काम भइराख्या छ । म त्यसैभित्र पर्छु फेरि ।’ उनले आफूलाई अध्यक्ष ओलीको टिमभित्रका केही मान्छेले स्पेश नदिन खोजेको आरोप लगाएका छन् । ‘उहाँ (ओली) को टिमभित्र मलाई धकेलेर, त्यसपछाडि स्पेश क्रियट गर्न खोज्ने मान्छेहरू छन्,’ उनले भने ।
ती पोलिटब्युरो सदस्यले आफू आगामी महाधिवेशनमा पदाधिकारी पदको दाबेदार रहेको स्पष्ट पारेका छन् । आफूभन्दा सिनियर नेता आए मात्र सोच्न सकिने बताउँदै उनले नत्र जुनियरका लागि मैदान नछोड्ने बताए । ‘मैले पनि आफूलाई डिक्लेअर गरिराखेको छु,’ उनले भने, ‘मभन्दा सिनियर आए भने म यस बारेमा सोचूँला, मभन्दा जुनियरलाई चाहिँ छोडेर म चाहिँ ब्याक हुन्न ।’ पार्टीको ‘पब्लिक अफेयर्स’ र आफ्नो क्षमताको आधारमा आफू उक्त पदका लागि योग्य रहेको उनको दाबी छ ।
ती नेताले अध्यक्ष ओलीले ‘समूहबन्दी’ वा प्यानल बनाएर चुनावमा जानु अध्यक्षकै लागि घातक हुने चेतावनी दिएका छन् । उनले अध्यक्षले प्यानल बनाउँदा प्यानलका मान्छे मात्र आफ्नो हुने र बाँकी ठूलो पंक्ति चिढिने खतरा औंल्याए ।
‘यतिखेर केपी ओलीले आफूलाई सग्लो रूपमा आफूलाई निकाल्ने र हल नगर्ने हो भने समूहबन्दी गर्नु अनुचित हुन्छ,’ उनको भनाइ छ, ‘पदाधिकारीको किन समूहबन्दी गर्नुपर्यो ? पदाधिकारीमा उठेका मान्छे जो जित्छ, त्यो उहाँको हुन्छ नि । अर्कोले जित्ने स्थिति छैन, त्यसोगर्दा खेरि ।’ उनले अध्यक्षले नै गुट बनाएर लाग्दा अर्को पक्षलाई पनि गुट बनाउन बाध्य पार्ने र त्यसले पार्टीलाई नोक्सान पु¥याउने बताए ।
ती नेताको विश्लेषणमा महाधिवेशनमा सयौं आकांक्षीहरू छन् तर पद सीमित छ । यदि अध्यक्षले सीमित मान्छेको टिम बनाएर च्याप्ने हो भने असन्तुष्टहरूको ठूलो जमात खडा हुनेछ । ‘तल सदस्यहरूको इस्यु क्यान्डिडेटहरू धेरै छन् । उता (जित्ने) सयजना होलान् नहोलान्, यता चार–पाँच सय, छ–सात सय कति हुन्छन्,’ उनले गणितीय विश्लेषण गर्दै भने, ‘अनि ती मध्ये दुई सय जना मान्छे चाहिँ म्यानेज गरेर बाँकी चाहिँ म्यानेज नहुँदा के हुन्छ त ? त्यो बिग्रिन्छ, त्यसैले समूहबन्दी चाहिँ उचित होइन ।’
समूहबन्दी अध्यक्ष ओलीको हितमा नभएको निष्कर्ष उनको छ । ‘समूहबन्दी गरियो भने त्यसको लाभ चाहिँ ईश्वर पोखरेल पक्षले लिन्छ । त्यसैले समूहबन्दी चाहिँ केपी ओलीको निम्ति हितमा छैन,’ उनले भने । उनले पार्टी पंक्ति र जनमानसमा अध्यक्ष ओलीप्रति सम्मान भए पनि उनको वरिपरि रहेका मान्छेहरूप्रति वितृष्णा रहेको बताए । उनले अध्यक्षलाई घेराबन्दी गरिएको बताए । ‘अहिलेको महाधिवेशन भित्रको पनि ‘बुढाकै पक्षमा’ भनिने मान्छेहरूको पनि ‘इन जेनेरल’ बुढा देखि धेरै खराब होइन, यिनले खराब गरे भन्ने खालको ज्यादा आइराख्या छ,’ उनले भने, ‘बुढाले सबैलाई समेटिराखेको पनि म देख्दिनँ । नसमेटेपछि त कस्तो खालको केन्द्रीय कमिटी बनाउने हो उहाँले ?’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल भने ओलीले यस पटक पनि दशौं अधिवेशनमा जस्तै सर्वसम्मतिको नाममा सूची जारी गराउने बताए । ‘उनले (ओलीले)सर्वसम्मति जनाउ भनेर अघिल्लो महाधिवेशन जस्तै पूरै सूची जारी गराउँछन् । त्यसका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्छन् । निर्वाचन चाहिं हुन्छ र जीत छ्यासमिसे हुन सक्छ,’ पोखरेलले भने । ओलीले टिम बनाउँदा पनि आफूले जितेपछि टिमका अरुले नजित्नुमा उनलाई खासै मतलब नहुने बताए । ‘उनलाई के घाटा के नाफा ? उनी आफू जित्छन् पुगिहाल्यो नि ’ शंकर पोखरेल हार्ने सम्भावना देख्छु ! ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।