विराटनगर । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचन लड्ने गरेको यस क्षेत्रबाट यसपटक उनका छोरा श्याम सिटौलाको नाम पनि सिफारिस भएको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिको बुधबार बसेको बैठकले उम्मेदवारका लागि ६ जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय सभापति गणेश पोखरेलका अनुसार सिफारिस हुनेहरूमा श्याम सिटौलासहित नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टीकाराम ढकाल र सिताराम खड्का रहेका छन्। सूचीमा समेटिएका श्याम, नेता कृष्णप्रसाद सिटौलाका छोरा हुन्।
यसअघिका निर्वाचनहरूमा यो क्षेत्रबाट कृष्णप्रसाद सिटौला निरन्तर उम्मेदवार बन्ने गरेका थिए। तर, उनी हाल राष्ट्रियसभा सदस्य रहेका कारण यसपटक प्रत्यक्षतर्फको सिफारिसमा परेका छैनन्। सिटौला २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले देशभरबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी राखेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।