लोड हुँदैछ...

मेनु

महामन्त्री गगन थापा चार निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस, काठमाडौं ४ मा एकल नाम

महामन्त्री गगन थापा चार निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस, काठमाडौं ४ मा एकल नाम

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । आफ्नो गृह क्षेत्र काठमाडौं– ४ बाट एकल नाम सिफारिस भएसँगै महामन्त्री थापाको उम्मेदवारी सिफारिस भएको निर्वाचन क्षेत्रको संख्या चार पुगेको हो ।

काठमाडौँ बाहेक थापालाई रोल्पा, सर्लाही– ४ र धनकुटाबाट पनि उम्मेदवार बन्नका लागि सिफारिस गरिएको छ । विभिन्न जिल्लाबाट सिफारिस भए पनि थापाको मुख्य प्रतिस्पर्धा काठमाडौं– ४ बाटै हुने देखिएको छ, जहाँबाट उनी सर्वसम्मत रूपमा एकल सिफारिसमा परेका छन्

काठमाडौं बाहिरका तीन जिल्लामा भने थापासहित अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ । रोल्पाबाट महामन्त्री थापासहित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको छ । त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट थापासहित हालका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस गरिएको छ ।

धनकुटाबाट पनि थापाको नाम सिफारिस सूचीमा परेको छ । त्यहाँ उनीसहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ र पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएको छ ।

पार्टीभित्र लोकप्रिय मानिने महामन्त्री थापा कांग्रेसको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । संसदीय राजनीतिमा पनि उनको छवि बलियो रहेको छ ।

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेका थापाले त्यसयताका हरेक प्रत्यक्ष निर्वाचन जित्दै आएका छन् । उनले २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट ह्याट्रिक जित हासिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds