लोड हुँदैछ...

मेनु

विभेद, अन्याय र दमनविरुद्ध एकजुट भएर लड्न संयोजक प्रचण्डको आह्वान

विभेद, अन्याय र दमनविरुद्ध एकजुट भएर लड्न संयोजक प्रचण्डको आह्वान

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभेद, अन्याय र दमनविरुद्ध एकजुट भएर लड्न सबैमा आह्वान गरेका छन्। ७७औँ विश्व मानवाधिकार दिवसको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

संयोजक प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै मानवाधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने जन्मसिद्ध अधिकार भएको उल्लेख गरेका छन् ।

प्रचण्डले जनयुद्ध, जनआन्दोलन र विभिन्न अधिकारमुखी आन्दोलनको बलमा प्राप्त संविधानले उत्पीडित वर्गको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराएका छन्। तर, ती अधिकारहरू कागजमा मात्र सीमित हुन नहुने भन्दै उनले भनेका छन्, ‘ती अधिकारहरूको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो ।’

उनले समाजको ठूलो हिस्सा (दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू लगायत) लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएको तितो यथार्थलाई पनि सन्देशमा उजागर गरेका छन्।

शुभकामना सन्देशमा प्रचण्डले द्वन्द्वकालका पीडितहरूको न्यायको विषयलाई पनि प्रमुखताका साथ उठाएका छन्। न्याय, सत्यको खोजी र परिपूरण मानवाधिकारको अविभाज्य विषय भएको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनु राजनीतिक र नैतिक दायित्व भएको बताए।
‘संक्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याएर पीडितहरूको घाउमा मलम लगाउने कामलाई हामी कुनै पनि हालतमा पछि सार्न सक्दैनौँ,’ प्रचण्डले भनेका छन् ।

नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण र राज्यका हरेक निकायमा उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो रहने प्रचण्डको ठहर छ। उनले सामाजिक न्याय बिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने बताएका छन्।

प्रचण्डले यो दिवसले सबैलाई जातीय, लैङ्गिक, क्षेत्रीय तथा सांस्कृतिक विभेद अन्त्य गर्दै मानवाधिकारको पूर्ण कार्यान्वयनका लागि साझा सङ्कल्प लिन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds