काठमाडौँ । नेकपा एमालेको आगामी महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको नेतृत्व विवाद तल्लो स्तरको आरोप –प्रत्यारोपमा उत्रिएको छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको ‘मनोविज्ञान’ र ‘बोली’ माथि प्रश्न उठाउँदै उनी अब पार्टी नेतृत्वका लागि अयोग्य भएको गम्भीर टिप्पणी गरेकी छिन्।
आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार मानिएका ईश्वर पोखरेल समूहको भेलालाई सम्बोधन गर्दै शाक्यले ओलीमाथि ‘महिला द्वेषी’ सोच हाबी भएको आरोप लगाइन्। उनले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति प्रयोग गरेको ‘धामी–झाँक्री’ जस्तो शब्दले सिंगो महिला जगतकै अपमान गरेको भन्दै नेतृत्वको नैतिक धरातलमाथि नै प्रश्नचिह्न खडा गरेकी हुन्।
केही दिनअघि एक मिडिया अन्तर्वार्तामा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको सक्रियताप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ–ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउनेू भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई ‘अस्त्र’ बनाउँदै शाक्यले ओलीको आलोचना गरेकी हुन्।‘धामी, झाँक्री भनेको के हो ? सामान्य मान्छेलाई त यस्तो अपमान गर्न पाइँदैन भने देशको पूर्वराष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ? शाक्यले आक्रोश पोख्दै भनिन्।
उनले यसलाई नेतृत्व परिवर्तनको आधारका रूपमा प्रस्तुत गरिन्। शाक्यले भनिन्, ‘यो हद नेतृत्वलाई सुहाउँदैन। तर, केपी कमरेडले गर्न हुन्छ किनभने उहाँको सोचै छैन। महिलाप्रति हेर्ने दृष्टिकोण नै खराब छ। यस्तो नेतृत्व अब आवश्यक छैन।’
अहिले विश्वभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको सन्दर्भ कोट्याउँदै शाक्यले अध्यक्ष ओलीको बोली हिंसात्मक र अपमानजनक रहेको जिकिर गरिन्। ‘अभियान चलिरहेको बेलामा पार्टी अध्यक्षबाटै यस्तो शब्द प्रयोग हुनु भनेको सबै महिलाको अपमान हो,’उनले भनिन्, ‘यसका विरुद्ध अब सशक्त आवाज उठाउनुपर्छ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।