विराटनगर । आगजनीबाट ध्वस्त भएको कोशी प्रदेश सभाको भवन मर्मतका लागि मात्रै करिब साढे ५ करोड रुपैयाँ खर्च हुने भएको छ।
विराटनगरको देवकोटा चोकबाट विस्थापित भएर मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारमा सारीएको प्रदेश सभा सचिवालयले त्यहाँका संरचनालाई संसद सञ्चालन योग्य बनाउन ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ बजेट माग गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको लागत अनुमान (इस्टिमेट) सहितको फाइल आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ। तर, लामो समय बितिसक्दा पनि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा मर्मत सम्भारको काम अघि बढ्न सकेको छैन।
मन्त्रालयले तयार पारेको विवरण अनुसार तरकारी बजारको संरचनालाई संसद भवनको रूप दिन विभिन्न चार शीर्षकमा बजेट बाँडफाँट गरिएको छ। जसमध्ये सबैभन्दा धेरै रकम संसदीय समितिहरूको बैठक कक्ष बनाउन खर्च हुनेछ।
समिति हल मर्मत कार्यका लागि २ करोड ८५ लाख ६४ हजार ६ सय २४ रुपैयाँ लाग्ने भौतीक पुर्वधार मन्त्रालयले जनाएको छ । यस्तै बैठकका लागि सभाहल निर्माण तथा मर्मत गर्न २ करोड १३ लाख ५७ हजार ५ सय ५६ रुपैयाँलाग्ने छ । मुख्य भवन तथा क्यान्टिन मर्मतका लागि २७ लाख ९९ हजार ८ सय २७ रुपैयाँ र सेन्ट्री पोस्ट र प्यासेज वाकवे निर्माणस् १३ लाख २ हजार ७ सय ८३ रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।
सचिवालयले फर्निचर (कुर्सी) खरिदमा ‘मितव्ययिता’ अपनाउने भन्दै संसद सहयोग परियोजना ९पीएसपी० सँग सहयोग मागेको छ। सभामुख अम्बरबहादुर विष्टले पैसा जोगाउन कुर्सी नकिन्ने नीति लिएको बताए । उ
सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरे पनि भवन तयार नहुँदा समस्या देखिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले बजेट माग गरे पनि आर्थिक मामिला मन्त्रालयले अहिलेसम्म बजेट नछुट्याउँदा निर्माण व्यवसायी परिचालन हुन सकेका छैनन्। आर्थीक मामिला तथा योजना मन्त्रालयका सचिब कोसहरी निरौलाका अनुसार प्रदेशसभाको भवन मर्मतका लागि मागिएको बजेटका विषयमा भने कुनै छलफल भएको छैन ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा विराटनगरस्थित पुरानो भवनमा आगजनी भएपछि संघीय सरकारले बनाएको कटहरीको कृषि थोक बजारमा संसद सारिएको हो। १३ करोड ७६ लाख लागतमा बनेर प्रयोगविहीन अवस्थामा रहेको उक्त बजारको प्रशासनिक भवनमा अहिले सचिवालय र सभामुखको कक्ष मात्र सञ्चालनमा छ। संसद बैठक र संसदीय समितिका बैठकहरू सञ्चालन गर्न आवश्यक हलहरू भने जीर्ण र अव्यवस्थित रहेकाले मर्मतविना प्रयोग गर्न सकिने अवस्था छैन।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।