विराटनगर । ठेक्का सम्झौताको अबधि सकिएपनि अलपत्र रहेको हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–कटहरी खण्डको ठेक्का तोडिएको छ ।
राज्यबाट करिब १० करोड रुपैयाँ पेश्की (एडभान्स) रकम बुझेर पनि वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सडक विभागले एक्सन लिएर ठेक्का सम्झौता तोडेको हो ।
हुलाकी राजमार्गअन्तर्गत मोरङको विराटनगरदेखि कटहरी क्षेत्रको ६ किलोमिटर सडकखण्डको काममा चरम लापरबाही गरेको भन्दै सरकारले ‘श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडा’ सँगको ठेक्का तोडेको हो । योजना कार्यालय इटहरीले मंगलबार एक सूचना जारी गर्दै ठेक्का अन्त्य भएको घोषणा गरेको छ । काम नै नगरी राज्यको पैसा चलाउने निर्माण व्यवसायीबाट ब्याजसहित रकम फिर्ता लिने निर्णयसमेत कार्यालयले गरेको छ ।
सम्झौताअनुसार काम नगरेपछि योजना कार्यालयले निर्माण व्यवसायीलाई आर्थिक जरिवानाको रूपमा दुईतर्फी कारबाही अघि बढाएको छ । योजना प्रमुख युवराज पोखरेलका अनुसार निर्माण व्यवसायीले राखेको ४ करोड १९ लाख रुपैयाँ बराबरको कार्य सम्पादन जमानत जफत गरिनेछ।
त्यस्तै, काम सुरु गर्न भन्दै लगिएको तर काममा नलगाइएको ९ करोड ६७ लाख रुपैयाँ पेश्की (मोबिलाइजेसन पेस्की) रकम पनि जफतका लागि बैंकमा पत्राचार गरिएको छ। कार्यालयले यो पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल उपर गर्ने जनाएको छ। निर्माण व्यवसायीबाट कुल करिब १४ करोड रुपैयाँभन्दा बढी रकम सरकारी खातामा फिर्ता हुनेछ ।
सडक स्तरोन्नति गरी ४ देखि ६ लेनको बनाउने गरी २३ कात्तिक २०७६ मा श्रेष्ठ कन्स्ट्रक्सनले ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सकारेको थियो। रतुवा–केशलिया सडकखण्डको यो काम ३ वर्षभित्र ०७९ कात्तिक २३ सम्म सकिनुपर्नेमा पटक–पटक म्याद थप गर्दा पनि अलपत्र रहेको छ ।
सम्झौता भएको ५ वर्ष बितिसक्दा र दुईपटक म्याद थप गर्दा पनि आयोजनाको प्रगति जम्मा २५ प्रतिशतमा सीमित रहेको छ । पछिल्लो पटक थपिएको म्याद गत जेठमै सकिएपछि निर्माण व्यवसायीले साइट नै ठप्प पारेर बसेका थिए।
पटक–पटक ताकेता गर्दा पनि काम नभएपछि योजना कार्यालयले गत साउनमा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको थियो। तर, व्यवसायीले पेस गरेको जवाफ चित्तबुझ्दो नभएको र सार्वजनिक खरिद ऐनअनुसार काम गर्ने नियत नदेखिएपछि मंगलबार विधिवत रूपमा ठेक्का तोडिएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।