विराटनगर । उदयपुरको रामपुरमा अस्पताल प्रशासन प्रमुखको समेत जिम्मेवारी सम्हालेर बिरामीको उपचार गरिरहेका एमडी डा. विशाल राईलाई आफ्नो नेतृत्व सीप अपुरो लाग्यो । त्यसैले उनी ‘मनमोहन प्राविधिक विश्वविद्यालय’मा ‘हस्पिटल म्यानेजमेन्ट’ (अस्पताल व्यवस्थापन) विषयमा स्नातकोत्तर (मास्टर्स) पढ्न भर्ना भए ।
झापाको लखनपुरस्थित कोशी सरकारको प्रदेश आयुर्वेदिक केन्द्रमा कार्यरत चिकित्सक अभिषेक राजवंशीलाई पनि आफ्नै कार्यालयमा नेतृत्वको अभाव खट्कियो । यसपछि उनले पनि हस्पिटल म्यानेजमेन्ट पढ्ने निर्णय गरे । लुम्बिनी प्रदेशको बुटवल घर भएकी डा. प्रतिज्ञा पौडेललाई पनि विज्ञ भएर बिरामी जाँच्दैमा आफूमा व्यवस्थापकीय नेतृत्व क्षमता नभएको महसुस भयो । यही अभाव पूर्ति गर्न उनी अहिले मनमोहन प्राविधिक विश्वविद्यालयमा भर्ना भएर पढ्दैछिन् ।
माथि उल्लेखित डा. राई, राजवंशी र पौडेल प्रतिनिधि पात्र मात्र हुन् । आजकल अस्पताल व्यवस्थापन विषय पढ्न विज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्राविधिकहरूको आकर्षण बढ्न थालेको छ । धेरैजसो स्वास्थ्यकर्मी गत वर्षदेखि मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘मास्टर्स इन हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर’ को डिग्री लिन भर्ना हुन थालेका छन् । उनीहरू हरेक दिन बिहान ६ बजे विराटनगर–१४ जतुवास्थित विश्वविद्यालयको आंगिक कलेजमा पुग्छन् । सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेको यो कक्षामा ८० प्रतिशत भौतिक उपस्थिति अनिवार्य छ भने विद्यार्थीले प्रयोगात्मक (प्राक्टिकल) प्रतिवेदन पनि तयार गर्नुपर्छ ।
किन बढ्दैछ आकर्षण ?
कुशल स्वास्थ्य प्रशासक बन्न, आफ्नै क्लिनिक र अस्पताल सफल रूपमा सञ्चालन गर्न तथा अस्पतालमा नेतृत्वदायी भूमिका निर्वाह गर्न विज्ञ चिकित्सक र नर्सहरूमा यो विषयप्रति रुचि बढेको हो ।
बिरामीको उपचार गरेर पनि हाल विद्यार्थीका रूपमा कक्षामा भेटिने डा. राई भन्छन्, ‘स्वास्थ्य क्षेत्रको विज्ञ भएर मात्र नपुग्ने रहेछ, अस्पताल व्यवस्थापनको व्यावहारिक सीप र ज्ञान पनि चाहिने रहेछ । ढिलो–चाँडो यो विषय नपढी धेरैलाई नहुने देखियो ।’
सुनसरीको इटहरीमा होमियोप्याथिक अस्पताल सञ्चालन गरिरहेका डा. खगेन्द्र ओलीलाई व्यवस्थापनको पूर्ण ज्ञान नहुँदा अस्पताल चलाउन निकै कठिन भएको थियो । तर, पढाइ सुरु गरेपछि सहज महसुस भएको उनी बताउँछन् । ‘हामीले जागिरमा बढुवा पाउन मात्र होइन, बिरामीलाई सन्तुष्ट बनाउँदै कुशल नेतृत्व प्रदान गर्नका लागि यो विषय पढ्नैपर्ने रहेछ,’ डा. ओलीले भने ।
इटहरी उपमहानगरपालिकामा जनस्वास्थ्य अधिकृत रहेका विशाल दाहाल आफूले अस्पताल प्रमुख भएर काम गरिसके पनि व्यवस्थापकीय क्षमता अभाव महसुस भएको बताउँछन् । ‘मास्टर्स सकेपछि आफूले नेतृत्व गर्ने अस्पतालमा बिरामी सन्तुष्ट भए/नभएको रेटिङ बोर्ड नै स्थापना गराउने योजनामा छु,’ दाहालले भने ।
पोखराकी डा. सृष्टि भण्डारीको अनुभव पनि उस्तै छ । अस्पताल व्यवस्थापनसम्बन्धी ज्ञान नहुँदा सञ्चालक, चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीबीच ‘ग्याप’ देखिने गरेको उनले बताइन् । यस्तै, मोरङको विराट टिचिङ अस्पतालमा ‘क्वालिटी कन्ट्रोल’ विभागमा कार्यरत मोनिका रेग्मी र आईसीयू सुपरभाइजर सुस्मिता पनि आफ्नो विभागको सफल नेतृत्व गर्न र लिडरसिप ज्ञान बढाउन यो विषय पढ्न थालेको बताउँछन् । तेह्रथुमको म्याङलुङस्थित जिल्ला अस्पतालको कम्प्युटर शाखामा कार्यरत अनिला लिम्बु र सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत नर्स उषा खड्का पनि व्यवस्थापकीय दखल बढाउन अध्ययनमा जुटेका छन् ।
के पढाइ हुन्छ कोर्षमा ?
मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक दुई वर्ष अघिदेखि कुशल अस्पताल व्यवस्थापक उत्पादन गर्न यो विषयको अध्यापन सुरु गरेको हो । कलेजकी कार्यक्रम संयोजक प्रतिक्षा रेग्मीका अनुसार, स्वास्थ्य क्षेत्रमा अस्पताल कुशलतापूर्वक सञ्चालन गर्ने र नेतृत्व लिन सक्ने जनशक्तिको अभाव छ ।
‘हामीले कोर्ष सुरु गर्नेबित्तिकै डाक्टर, नर्स र प्राविधिकहरूले धेरै रुचि देखाउनुभयो,’ संयोजक रेग्मीले भनिन्, ‘पहिलो ब्याचमा २४ जना र २०८२ को दोस्रो ब्याचमा २७ जना विद्यार्थी भर्ना भएका छन्, जसमा धेरैजसो पेसाकर्मी नै हुनुहुन्छ ।’
यो कोर्षले अस्पताल सञ्चालन गर्न मात्र सिकाउँदैन, एउटा कुशल नेतृत्वकर्ता बन्न पनि सहयोग गर्छ । यसमा स्वास्थ्यसम्बन्धी नीति र कानुन, खरिद ऐनको कार्यान्वयन, अस्पतालमा दैनिक आइपर्ने झमेला र द्वन्द्व व्यवस्थापन (कन्फ्लिक्ट म्यानेजमेन्ट) तथा सञ्चालन व्यवस्थापनबारे व्यावहारिक सीप प्रदान गरिन्छ ।
विज्ञहरूको धारणा
हस्पिटल म्यानेजमेन्ट विज्ञ तथा विजयपुर अस्पताल प्रा.लि.का प्रमुख प्रशासक इन्द्र नेपाल योन्जनका अनुसार, बिरामी जाँच्ने डाक्टर र ल्याब/नर्सिङ सेवा गर्ने प्राविधिकबीच बुझाइमा अन्तर (ग्याप) हुँदा अस्पताल सञ्चालनमा कठिनाइ हुने गरेको छ । यही कारण बिरामीका आफन्त र स्वास्थ्यकर्मी वा व्यवस्थापकबीच द्वन्द्व बढ्ने गर्छ ।
‘पोखरा विश्वविद्यालयमा हेल्थकेयर म्यानेजमेन्ट पढाइ हुने गरे पनि हस्पिटल व्यवस्थापनलाई नै केन्द्रित गरेर पढाइ सुरु गर्ने मनमोहन प्राविधिक विश्वविद्यालय पहिलो हो,’ योन्जन भन्छन्, ‘यो विषयले अस्पतालमा हुने लापरबाहीको आरोप, खरिदमा हुने भ्रष्टाचार नियन्त्रण तथा प्रशासन र अदालतको सामना गर्ने क्षमता विकास गराउँछ ।’
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार, अस्पताल प्रशासन चलाउनेहरूलाई खरिद प्रक्रिया, स्वास्थ्य नीति, कानुन, फोहोर व्यवस्थापन र जनसम्पर्क कलाबारे ज्ञान अति आवश्यक पर्छ । ‘बजारको माग र आवश्यकता हेरेर स्वदेशी तथा विदेशी विज्ञहरूबाट हामीले हस्पिटल म्यानेजमेन्टको विशेष कोर्ष तयार गरेका हौं,’ उपकुलपति पोखरेलले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।