काठमाडौं । ‘जेन जी’ आन्दोलनको रापताप सेलाउन नपाउँदै नेकपा एमाले महाधिवेशनको सँघारमा उभिएको छ । २०८३ मंसिरमा हुनुपर्ने महाधिवेशनलाई जेन जी आन्दोलनले एक वर्ष अगाडि तानेपछि एमालेभित्रको शक्ति सङ्घर्ष चरम उत्कर्षमा पुगेको छ ।
आन्दोलनको बलमा प्रधानमन्त्रीबाट पदच्युत भएका केपी शर्मा ओली पुनः पार्टी सत्ताको बागडोर सम्हाल्न ‘निर्विकल्प’ बन्ने दाउमा छन्, तर उनलाई यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा वैचारिक र साङ्गठनिक चुनौती दिएका छन् ।
ओलीले महाधिवेशनमा ‘नीतिगत बहस नहुने र केवल नेतृत्व चयन हुने’ फर्मान जारी गरेपछि पोखरेल समूहले यसलाई सिधै अस्वीकार गर्दै सोमबार पार्टी मुख्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराएर ओलीमाथि सशक्त ‘काउन्टर अट्याक’ सुरु गरेको छ ।
ओलीको ‘नो डिबेट’ भर्सेस पोखरेलको ‘विचारधारात्मक विद्रोह’
अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले ‘विधान महाधिवेशनले नीति टुङ्ग्याइसकेकाले अब नेतृत्व मात्र चयन हुने’ रटान लगाइरहँदा ईश्वर पोखरेल पक्षले भने त्यसलाई ठाडै खारेज गरिदिएको छ । पोखरेलले सोमबार दर्ता गराएको अवधारणा–पत्रमा ओलीको ‘फर्मान’ लाई चुनौती दिँदै भनिएको छ, ‘विधान महाधिवेशन सकिएको भोलिपल्टै देशमा जेन जी आन्दोलन सुरु भयो । यसले राजनीति, जनमनोविज्ञान र भू–राजनीतिमा उथलपुथल ल्याइसक्यो । यत्रो परिघटनालाई बेवास्ता गरेर पुरानै दस्ताबेजको रटान लगाउनु पार्टीको आत्महत्या सरह हुनेछ ।’
ओलीले आफ्नो उद्घाटन मन्तव्यलाई नै मूल दस्ताबेज मान्नुपर्ने हठ कसिराख्दा पोखरेलले ‘छुट्टै दस्ताबेज’ दर्ता गराएर बन्द सत्रमा वैचारिक भूकम्प ल्याउने संकेत गरेका छन् । पोखरेलको यो कदममा एमालेका बौद्धिक र मध्यमार्गी मानिने उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले खुलेर साथ दिएका छन् ।
गुण्डु भर्सेस थापागाउँः दुई ध्रुवको रस्साकस्सी
अहिले एमाले प्रस्ट रूपमा दुई ध्रुवमा विभाजित छ । भक्तपुरको गुण्डुस्थित ओली निवासबाट ‘मेरो होइन माटोको बोली, फेरि एकपटक केपी ओली’ भन्ने नारा र ओलीको ‘लिगेसी’ नै पार्टीको भविष्य हो भन्ने भाष्य निर्माण गरिँदैछ ।
यता काठमाडौंको थापागाउँस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय ‘परिवर्तनकारी’ खेमाको कमाण्ड सेन्टर बनेको छ । ईश्वर पोखरेलको ब्याकअपमा उभिएकी भण्डारीको अप्रत्यक्ष छायाँ र पोखरेलको नेतृत्वले ‘लोकतन्त्र र देशको अस्तित्व, एमालेमा दृढ र सुदृढ नेतृत्व’ भन्ने नारा अघि सारेको छ । पोखरेल समूहले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालका तस्बिर अघि सार्दै ओलीको व्यक्तिवादी शैलीको विकल्पमा ‘सामूहिक नेतृत्व’ को वकालत गरेको छ ।
‘जेन जी’ आन्दोलन : घाँटीमा अड्किएको हाड
महाधिवेशनको सबैभन्दा पेचिलो विषय ‘जेन जी आन्दोलन’ बनेको छ । ओली समूह यसलाई ‘विदेशी चलखेल’ करार दिएर आफ्नो कमजोरी लुकाउन चाहन्छ । किनकि गम्भीर समीक्षा गर्दा त्यसको दोष तत्कालीन प्रधानमन्त्री ओलीमाथि नै थोपरिने डर उनीहरूमा छ ।
तर, ईश्वर पोखरेल समूहले यसैलाई ओलीमाथि प्रहार गर्ने मुख्य अस्त्र बनाएको छ । पोखरेलले पेस गरेको दस्ताबेजमा भनिएको छ, ‘जेन जी आन्दोलनको यथार्थ स्वीकार नगरी अगाडि बढ्न सकिँदैन । यसमा भएको क्षति र विध्वंसको समीक्षा गर्दै नयाँ पुस्ताको भावना सम्बोधन गर्न नसक्ने नेतृत्वले अबको चुनावको सामना गर्न सक्दैन ।’
ओलीमाथि नैतिक प्रश्नः लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरण
ईश्वर पोखरेलको अवधारणापत्रले ओलीको विगतको कार्यकालको चिरफार गरेको छ । ओलीले सातौँ र आठौँ महाधिवेशनमा आफैँले तयार पारेको ‘पार्टी लोकतान्त्रीकरण’ को प्रस्ताव आफैँ अध्यक्ष भएपछि कुल्चिएको गम्भीर आरोप पोखरेलले लगाएका छन् ।
‘दुई कार्यकालको प्रावधान हटाएर आजीवन नेतृत्वमा रहने चाहना राख्नु, फरक मतप्रति असहिष्णु बन्नु र विधि–विधानलाई आफू अनुकूल व्याख्या गर्नु ओली प्रवृत्तिको मुख्य समस्या हो,’ पोखरेलको दस्ताबेजमा उल्लेख छ । उनले विद्या भण्डारीलाई सदस्यता नवीकरणमा रोक लगाइएको प्रसङ्ग कोट्याउँदै ओलीको प्रतिशोधपूर्ण राजनीतिको भण्डाफोर समेत गरेका छन् ।
फागुन २१ को ‘अर्ली इलेक्सन’ र पोखरेलको रोडम्याप
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावलाई पोखरेल समूहले महाधिवेशनको ‘रिजल्ट कार्ड’ सँग जोडेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई चुनाव गराएर बिदा गर्नुपर्ने प्रस्ताव राख्दै पोखरेलले ८ बुँदे माग अघि सारेका छन् ।
रोचक कुरा के छ भने, नेतृत्वमा ओलीलाई चुनौती दिए पनि पोखरेलले ओलीविरुद्ध लगाइएको ‘स्थानहद’ हटाउनुपर्ने माग राखेर आफूलाई परिपक्व र साङ्गठनिक नेताका रूपमा प्रस्तुत गरेका छन् । साथै, भगौडा कैदीबन्दीलाई जेल फर्काउनुपर्ने, लुटिएका हतियारको हिसाब खोज्नुपर्ने र भयरहित वातावरणमा चुनाव सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
निष्कर्षमा भन्नुपर्दा ‘नीतिमा छलफल हुँदैन’ भन्ने ओलीको एकतर्फी घोषणालाई ईश्वर पोखरेलले ‘अवधारणा–पत्र’ मार्फत काउन्टर दिएपछि एमाले महाधिवेशन परम्परागत कर्मकाण्डमा मात्र सीमित नहुने पक्का भएको छ । जेन जी आन्दोलनले सिर्जना गरेको नयाँ धरातलमा टेकेर पोखरेलले ओलीको ‘करिश्मावादी’ तर ‘स्वेच्छाचारी’ शैलीमाथि गरेको यो साङ्गठनिक र वैचारिक प्रहारले एमालेभित्र नयाँ समीकरणको जन्म दिएको छ । फागुन २१ को चुनावअघि एमालेले ‘कोर्स करेक्सन’ गर्छ वा ओलीकै हठको भारी बोकेर जान्छ, त्यसको छिनोफानो यसै महाधिवेशनको बन्द सत्रले गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।