विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ को उपाधि जित्ने खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ ।
विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सोमबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधि जित्ने खेलाडी र खेलका प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अध्ययनसँगै खेलकुदका क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यार्थी र प्रशिक्षकलाई सम्मान गर्र्दै बधाई दिएका थिए । विद्यालयस्तरीय र कलेजस्तरीय भन्दै दुई वटा क्लष्टर बनाइएको प्रतियोगितामा एभरेष्ट स्कुल कलेजतर्फ (कक्षा ११ र १२) मा जिल्लाकै प्रथम भएको छ ।
एभरेष्टले ६ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये कलेजतर्फको स्पर्धामा ५ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएको हो ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार टेबल टेनिस, बास्केटबल, दौड लगायतका स्पर्धामा एभरेष्टका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । विजेता खेलाडीहरुलाई अबिर, खादाले सम्मान गर्दै मेडल र ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगितामा प्याब्सनमा आवद्ध विद्यालयहरुमध्ये स्कुलतर्फ (कक्षा १–१०) ६८ विद्यालय र कलेज (कक्षा ११ र १२) तर्फ ३४ वटा विद्यालयले भाग लिएका थिए । । कलेजतर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम हुँदा विद्यालयतर्फ मोरङ सुन्दरहरैचाको सिद्धार्थ सेकेन्डरी स्कुल प्रथम भएको थियो ।
सिद्धार्थले ८ स्वर्ण, ३ रजत र २ वटा कास्य पदक जितेको हो । सिद्धार्थ स्कुलका खेलाडीहरुले एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।