विराटनगर। केपी शर्मा ओली पक्षका चार जना प्रतिनिधि समेट्ने सहमति भएपछि ओखलढुंगामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद मिलेको छ ।
यसअघि जिल्लाबाट १२ जना प्रतिनिधि मतदानबाट छनौट भएकोमा सबै ईश्वर पोखरेल पक्षधर थिए । पोखरेल पक्षधर मात्र प्रतिनिधि छनौट भएपछि एमालेको संगठन विभागले त्यसलाई अस्वीकार गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो ।
सदरमुकमामा मात्र निर्वाचन गरेको र एकपक्षीयरूपमा प्रतिनिधि घोषणा गरेको भन्दै ओली पक्षले केन्द्रमा उजुरी गरेको थियो । जिल्लामा ओली पक्षका नेता यज्ञराज सुनुवार र पोखरेल पक्षका नेता अमिरबाबु गुरुङबीचको शक्ति संघर्षको कारण उत्पनन विवाद समाधान भएको हो । अर्को पक्षलाई चार जना प्रतिनिधि दिएर समस्या समाधान गरेको नेता गुरुङले जानकारी दिए ।
पटकपटकको छलफलपछि मंसिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको पक्षलाई ४ प्रतिनिधि दिएर मिलाइएको हो । ओली पक्षबाट पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि बनाउने सहमति भएको छ ।
अन्य आठ जना प्रतिनिधि भने पोखरेल पक्षकाक छन् । जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पोखरेल पक्षधर हुन् ।
ओखलढुंगाको एमाले जिल्ला कमिटिमा उपसचिव अस्मिता थापाबाहेक सबै पदाधिकारी पोखरेल पक्षधर छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।