विराटनगर । पार्टीको विधि, विधान र केन्द्रीय परिपत्रलाई समेत चुनौती दिँदै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले विवादास्पद मेडिकल व्यवसायी डा.सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एकल सिफारिस गरेको छ ।
कांग्रेस केन्द्रले स्पष्ट रूपमा प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो । तर, मोरङ–३ को क्षेत्रीय कार्यसमितिले केन्द्रको उक्त निर्देशनलाई रद्दीको टोकरीमा फ्याँक्दै शर्माको मात्र नाम एकल रूपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । शनिबार बसेको बैठकले अन्य आकांक्षीहरूको लोकतान्त्रिक अधिकार र समावेशीताको सिद्धान्तलाई बेवास्ता गर्दै शर्मालाई सर्वसम्मतको लेपन लगाएर सिफारिस गरेको हो ।
पछिल्लो समय शर्माका अराजक अभिव्यक्ति र आफ्नै पार्टी नेतृत्वको सरकार तथा नेताहरूबिरुद्धको सार्वजनिक गालीगलौजले कांग्रेस वृत्तमा ठूलो तरंग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँगको शंकास्पद हिमचिम र भेटघाटले उनी कांग्रेस हुन् कि अन्य दलका प्रतिनिधि भन्ने प्रश्न कार्यकर्ताले उठाइरहेका बेला क्षेत्रीय समिति भने उनकै अगाडि नतमस्तक देखिएको छ ।
क्षेत्रीय समितिका सचिव राजेन्द्र अधिकारीले शर्माको नाम एकल सिफारिस गरिएको पुष्टि गरे पनि भित्री असन्तुष्टि भने भुसको आगोझैँ सल्किएको छ । नाम नभन्ने सर्तमा बैठकमा सहभागी एक नेताले भने, ‘उहाँको बोलीमा लगाम लगाउनुपर्ने कुरा बैठकमा उठेको थियो । तर, अवस्था हेर्दा पार्टीले शर्मालाई होइन, शर्माले चाहिँ पार्टी चलाएको जस्तो देखियो । विधिको शासन मान्ने पार्टीमा यो स्तरको दादागिरी र ‘हाइज्याक’ शैली स्वीकार्य छैन ।’
शर्माको धन र पहुँचको अगाडि स्थानीय नेतृत्व निरीह बन्दा अन्य इमानदार कार्यकर्ताहरूको राजनीति धरापमा परेको गुनासो क्षेत्रमा बढेको छ ।
शर्माको एकल नाम पठाउँदा समानुपातिकतर्फ भने समितिले चार जनाको नाम सिफारिस गरेको छ । जसमा बसन्त भट्टराई, सुयर्मा राज राई, रेखबहादुर तामाङ र बिन्दु कुमारी कार्की छन् । यस्तै, राष्ट्रिय सभा सदस्यका लागि लोकप्रसाद संग्रौला, राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौला र योगेन्द्र दाहालको नाम सिफारिस गरिएको छ ।
सुशिला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।