विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सिसियु सञ्चालनमा ल्याएको छ।
हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सिसियुमा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले रिबन काटेर सिसियुको उद्घाटन गरेका हुन् । पहिला ९ शैया र अहिले क्याबिनसहित १६ शैया गरी जम्मा २५ शैया सिसियु बाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउनेछन् ।

यो सेवा विस्तारले पूर्वी नेपालका मुटु रोगका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको विश्वास छ। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मुटुको बिरामीको लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । हरेक दिन १४० जना भन्दा बढी बिरामी मुटु उपचारका लागि अस्पताल पुग्ने आउने गरेका छन् ।
हस्पिटलको मुटु रोग विभागको क्याथ ल्याबमा एक महिनामा करिब १५० जनाभन्दा बढी बिरामीले विशेष उपचार लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालबाट कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पिटिएमसीलगायत उपचार सेवा प्रवाह हुने गरेको छ ।
मुटु रोगका बिरामीका लागि स्वास्थ्य बिमा, विपन्न नागरिक औषधि उपचार कोष, जेष्ठ नागरिक, भूतपूर्व सैनिक र सामाजिक सुरक्षा कोष जस्ता विभिन्न माध्यमबाट उपचार सुविधा लिन सकिने भएकोले विरामीहरुको चाप अस्पतालमा बढ्दै गएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।