लोड हुँदैछ...

मेनु

सकियो एनपिएलको लिग चरण : अन्तिम खेलमा कर्णालीको रोमाञ्चक जित

सकियो एनपिएलको लिग चरण : अन्तिम खेलमा कर्णालीको रोमाञ्चक जित

विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणका सम्पूर्ण खेलहरू सकिएका छन्। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि ३ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

जितका लागि १३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। खेलको अन्तिम ओभर निकै तनावपूर्ण रह्यो।

जितका लागि अन्तिम ६ बलमा १४ रन आवश्यक थियो। कर्णालीका बलर नन्दन यादवले पहिलो बलमै ३९ बलमा ५१ रन बनाएका सेट ब्याटर सञ्जय कृष्णमूर्तिलाई गुल्सन झाको हातबाट क्याच आउट गराए। त्यसपछि क्रिजमा आएका आदित्य महता र कप्तान यान निकोलले संघर्ष गरे पनि टोलीलाई जिताउन सकेनन्। अन्तिम बलमा जितका लागि छक्का चाहिएको अवस्थामा निकोल बाउन्ड्री प्रहार गर्न असफल भए र दुई रन लिने क्रममा रनआउट हुन पुगे।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले इमरान शेखको ३३ रन र कप्तान सोमपाल कामीको अविजित १८ रनको मद्दतमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो। बलिङतर्फ कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै मात्र ९ रन दिएर १ विकेट लिए भने विलियन बोसिस्टोले २ विकेट हात पारे। जनकपुरका ललित राजवंशी र आदित्य महताले २(२ विकेट लिए।

यो जितसँगै ७ खेलबाट ४ अंक जोडेको कर्णाली याक्स छैटौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। अर्कोतर्फ, प्रतियोगिताभर खराब प्रदर्शन गरेको जनकपुर बोल्ट्सले जम्मा १ जित र २ अंकसहित पुछारमा (आठौं स्थान) चित्त बुझायो।

अंक तालिकाको शीर्ष चार टोली
१. सुदूरपश्चिम रोयल्स : १२ अंक
२. विराटनगर किंग्स : १० अंक
३. काठमान्डु गोर्खाज : १० अंक
४. लुम्बिनी लायन्स : ८ अंक

प्रतियोगिताबाट बाहिरिने टोलीहरूमा पोखरा एभेन्जर्स (६ अंक, पाँचौं), कर्णाली याक्स (छैटौं), चितवन राइनोज (सातौं) र जनकपुर बोल्ट्स (आठौं) रहे।

अब उपाधिका लागि शीर्ष चार टोलीबीच भिडन्त हुनेछ । पहिलो क्वालिफायर (मंगलबार) सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किंग्सबीच फाइनल पुग्ने प्रतिस्पर्धा हुनेछ । बुधबार भने काठमान्डु गोर्खाज विरुद्ध लुम्बिनी लायन्स बीच हुन् । उक्त प्रतियोगितामा पराजित टोली बाहिरिनेछ भने पहिलो क्वालिफायर टोली विराटनगर र सुदुरपश्चिममध्येको एउटा पराजित टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।