विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशका १४ वटै जिल्लामा पार्टी एकतालाई तल्लो तहसम्म पुर्याउन ‘एकता सन्देश सभा’ अभियान तीव्र पारेको छ । पार्टीले आगामी पुस १ गतेभित्र प्रदेशका सबै जिल्लामा सन्देश सभा सम्पन्न गर्ने गरी तयारी थालेको हो ।
नेकपाका नेता तथा पूर्व माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ का अनुसार पार्टी एकताको भावलाई कार्यकर्ता र जनतामाझ पुर्याउन अभियान सुरु गरिएको हो । हाल पाँचथरमा रहेका नेता मिक्सोले केही जिल्लाहरूको मिति तय भइसकेको र बाँकी जिल्लाहरूमा पनि पुस १ गतेभित्रै कार्यक्रम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
कुन जिल्लामा कहिले हुँदैछ सभा ?
नेता मिक्सोले दिएको जानकारी अनुसार पहाडी जिल्लाहरूमा सभाको मिति यसरी तय गरिएको छः
मंसिर २५ गतेः ताप्लेजुङ
मंसिर २६ गतेः उदयपुर, भोजपुर र पाँचथर
मंसिर २७ गतेः धनकुटा र तेह्रथुम
पुस १ गतेः खोटाङ
यस्तै, इलाममा आन्तरिक व्यवस्थापनको काम बाँकी रहेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ । ओखलढुङ्गा र सोलुखुम्बुमा पनि तयारी भइरहेको छ भने झापा, मोरङ र सुनसरीको हकमा भने बैठक बसेर चाँडै मिति तय गरिने मिक्सोले जानकारी दिए ।
संगठन एकता कहिले ?
अहिलेको कार्यक्रम केवल ‘सन्देश सभा’ मात्र हुने नेता मिक्सोले स्पष्ट पारेका छन् । जिल्ला र स्थानीय तहको नेतृत्व चयन प्रक्रिया भने माथिल्लो कमिटीबाट टुंगो लागेपछि मात्र अघि बढ्नेछ। ‘अहिले हामी आयोजक समिति जस्तो मात्रै छौं,’ मिक्सोले भने, ‘प्रदेशको कमिटीले पूर्णता पाएपछि प्रदेशले जिल्लाको नेतृत्व तोक्नेछ भने जिल्लाले पालिका र वडाहरूको नेतृत्व चयन गर्ने विधि बनाइएको छ । प्रदेशकै नेतृत्व टुंगो नलागेकाले अहिले तलको कमिटी बनेको छैन ।’
कार्यकर्तामा उत्साह !
पार्टी एकताको सन्देश लिएर जिल्ला दौडाहामा रहेका नेता मिक्सोले एकतामा आएका पार्टीहरुको संगठन बलियो भएको ठाउँमा कार्यकर्तामा उच्च उत्साह देखिएको बताए । यद्यपि, संगठन कमजोर भएको वा अन्य पार्टीको प्रभाव बढी भएको स्थानमा पनि सामान्यतयाः उत्साह नै देखिएको उनको अनुभव छ ।
यो अभियानले कोशी प्रदेशमा नेकपाको सांगठनिक एकतालाई सुदृढ बनाउने र तल्लो तहसम्म पार्टीको नीति तथा कार्यक्रम पुर्याउने विश्वास उनले व्यक्त गरे ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
चाँडै पाटीको एकता सभा सकेर जन वर्गिय संगठन मा एकता गर्नु पर्छ /
प्रतिक्रियाहरू बन्द छन्।