विराटनगर । विराटनगरमा रहेका दुई प्रतिष्ठित स्वास्थ्य संस्था, न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबिच स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहकार्य भएको छ । न्यूरो अस्पतालमा आइतबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरी दुवै अस्पतालले आधिकारिक रूपमा सहकार्यको घोषणा गरेका हुन् ।
विराटनगरलाई ‘स्वास्थ्य हब’ का रूपमा विकास गर्न र बिरामीलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गर्न यो सम्झौता गरिएको हो । कार्यक्रममा बोल्दै नोबेल मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘एउटै क्षेत्रमा काम गर्दा सधैं प्रतिस्पर्धा मात्र हुनुपर्छ भन्ने छैन, सहकार्य गरेर पनि उत्कृष्ट नतिजा दिन सकिन्छ । यो सहकार्यले यहाँको स्वास्थ्य सेवालाई थप मजबुत बनाउनेछ ।’
सम्झौता अनुसार, न्यूरो अस्पतालमा उपचारका लागि आएका बिरामीलाई क्यान्सर सम्बन्धी थप परामर्श वा उपचार आवश्यक परेमा नोबेल मेडिकल कलेजसँग समन्वय गरिनेछ । यसरी रिफर भएर जाने बिरामीहरूको उपचार प्रक्रियामा नोबेलले प्राथमिकता दिनेछ भने उपचार खर्चमा विशेष छुटको व्यवस्था समेत गर्नेछ ।
यसका साथै, दुवै अस्पतालले चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा सीप विकास तालिम, कार्यशाला र नियमित मेडिकल शिक्षा जस्ता कार्यक्रमहरू आयोजना गर्ने सहमति गरेका छन् ।
आफ्नो रजत जयन्ती मनाइरहेको न्यूरो अस्पतालले सेवालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउन यो कदम चालेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य उपचार एउटा जटिल प्रक्रिया हो । यहाँ प्रतिस्पर्धा भन्दा सहकार्यले उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने विश्वासका साथ हामीले यो सम्झौता गरेका हौँ ।’
करिब दुई दशकदेखि सञ्चालित ७५० शैयाको नोबेल मेडिकल कलेजले हालै क्यान्सर उपचारमा ठूलो लगानी गर्दै अत्याधुनिक प्रविधि भित्र्याएको छ । अस्पतालमा १०० भन्दा बढी आईसीयू तथा सीसीयू शैयाहरू उपलब्ध छन् ।
यो सहकार्यले कोशी तथा मधेश प्रदेशका नागरिकलाई क्यान्सर उपचारमा ठूलो राहत मिल्ने र समग्र स्वास्थ्य सेवाको स्तर उकास्न टेवा पुग्ने विश्वास दुवै अस्पताल प्रशासनले लिएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।