धरान । पूर्वी पहाडी जिल्लाबाट यो वर्ष सुन्तलाको व्यापार सिजनको सुरुमै उत्साहजनक देखिएको छ ।
सुनसरीको धरान कृषि थोक बजारका अनुसार मंसिर १५ सम्मै १ हजार ५०० मेट्रिक टन सुन्तला भित्रिएसँगै करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सुन्तलाको मुख्य सिजन मंसिर–पुस मानिएको भएपनि पहेँलो नपुगेका फलसमेत बजारमा आउन थालेपछि कात्तिकदेखि नै व्यापार चहलपहल बढेको छ । गत आर्थिक वर्षमा ५ हजार ६५० मेट्रिक टन सुन्तलाबाट ६२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष उत्पादन बढ्ने संकेत छ। मंसिर १५ मै १ हजार ५०० मेट्रिक टन सुन्तला बजारमा आइसकेको र व्यापारीहरूले गत वर्षको तुलनामा उत्पादन झण्डै २० प्रतिशत बढ्ने आँकलन गरेको उनले बताए ।
थोक बजारमा भोजपुर, धनकुटा, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र खोटाङका सुन्तला आउने गर्छन्। यिनै ठाउँका सुन्तला इटहरी, विराटनगर, उर्लाबारी, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुरलगायतका बजारमा पुर्याइन्छ ।
कात्तिकदेखि सुरु हुने सुन्तला कारोबार चैतको पहिलो सातासम्म चल्छ । पुस–माघ नै सुन्तलाको मुख्य सिजन हो । माघ–फागुनमा स्वाद झनै उत्कृष्ट हुने उनले बताए ।
धनकुटाका किसान भने यस वर्ष किराको प्रकोपको कारण सुन्तलाको उत्पादन घटेको गुनासो गरिरहेका छन् । सुन्तलाका बोटमा फैलिएको जरा–किराका कारण उत्पादन ठूलो मात्रामा घटेको उनीहरुको भनाइ छ ।
धनकुटा सहिदभूमिका किसान झमक सिंह राईका अनुसार, बोट पहेँलो हुने, सुक्ने र फुलै नलाग्ने समस्या देखिएको छ । फल लागे र दवाईले पनि किरा नियन्त्रण नभएको उनले बताए । गत वर्ष करिब ४ लाख रुपैयाँ बराबरको सुन्तला विक्री गरेका उनले यो सिजनमा १ लाख पनि नपुग्ने अवस्था रहेको बताए ।
कृषि प्राविधिकका अनुसार जरा–किरा अत्यन्त टिकाउ प्रजातिको हुनाले जैविक तथा रासायनिक दुबै विधिबाट समयमै उपचार नगरे उत्पादनमा ठूलो क्षति पुग्ने गरेको छ । थोक व्यापारी टिकाराम श्रेष्ठका अनुसार स्थानीय उत्पादन विस्तार भए पुस–माघमा स्वदेशी सुन्तलाले बजार कब्जा गर्ने र आयातित फलफूलको खपत घटाउने देखिएको छ ।
यो वर्ष धनकुटामा समस्या देखिए पनि भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र खोटाङमा नयाँ कृषक बढेका कारण समग्र उत्पादन बढ्ने अपेक्षा छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।