भोजपुर । नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६, कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४४३ जनाले सेवा लिएका छन्।
नयाँ श्रीनाथ गणको संयोजनमा आयोजित शिविर विशेषगरी स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरिएको थियो।
गण प्रमुख पर्शुराम थापाका अनुसार समुदायसँगको आत्मीयता मजबुत बनाउँदै ग्रामीण बासिन्दालाई विशेषज्ञ सेवा नजिकै उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य हो । सेनाको नेतृत्वमा टेम्केमैयुङ गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला आयुर्वेदिक अस्पताल, सिद्धकाली फार्मेसी र स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा कान, नाक, घाँटी (ईएनटीं), आँखा, बालरोग, दन्तरोग, स्त्रीरोग तथा सामान्य रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरे। स्थानीय बासिन्दाको आर्थिक तथा समयजन्य कठिनाइलाई ध्यानमा राख्दै गाउँमै सेवा पुर्याइएकोप्रति गाउँपालिका उपाध्यक्ष रमादेवी राईले प्रशंसा व्यक्त गरिन्।
शिविर टेम्केमैयुङ–६ कोटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो। नेपाली सेना लामो समयदेखि दुर्गम क्षेत्रमा सामाजिक सेवामूलक कार्यक्रममार्फत नागरिकलाई प्रत्यक्ष हित पुग्ने काम गर्दै आएको छ ।
सेनाले सञ्चालन गरेको यसपटकको शिविरले पनि स्थानीयलाई उल्लेखनीय लाभ पुगेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।