लोड हुँदैछ...

मेनु

चुनावको तयारीमा जुट्न नेपाली कम्युनिष्ट पार्टीको निर्देशन

चुनावको तयारीमा जुट्न नेपाली कम्युनिष्ट पार्टीको निर्देशन

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न पार्टी पङ्तिमा निर्देशन जारी गरेको छ । आउँदो निर्वाचनको वातावरण बनाउन र जनताका बिचमा पार्टीको चुनाव चिन्ह चिनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्न पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अन्य राजनीतिक दलहरुसँग छलफल गरी निर्वाचनको वातावरण बनाउन पनि अन्तर पार्टी निर्देशनमा भनिएको छ ।

पार्टीले सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया गरी चुनाव चिह्न ‘तारा’ जनतामा चिनाउन निर्देशन दिँदै सरकार र निर्वाचन आयोग तथा विभिन्न तहमा सम्बन्धित तहका निर्वाचन एवं सुरक्षा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न तथा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न ‘तारा’ आम जनतालाई चिनाउन भनिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा रहँदा गरेका जनपक्षीय र भ्रष्टाचार विरोधी राम्रा कामहरूको जनताबीच व्यापक प्रचार गर्न र भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

‘त्यस्ता क्रियाकलापहरूको विरोध गर्ने तथा विकास निर्माण, जनताको सेवा सुविधा, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आवाज बुलन्द गर्ने,’ संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानिमा उल्लेख छ ।

पार्टीले विभिन्न तहमा मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्न, सबै तहमा पार्टी र जनवर्गीय संगठनद्वारा निर्वाचनको तयारी केन्द्रित बैठक, भेला, प्रशिक्षण तथा विभिन्न रचनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds